सत्यराज जोशीको ‘कर्मपथ’ विमोचन : कर्म, उद्देश्य र जीवन दर्शनको गहिरो अन्वेषण

सत्यराज जोशीको ‘कर्मपथ’ विमोचन : कर्म, उद्देश्य र जीवन दर्शनको गहिरो अन्वेषण

काठमाडौं । युवा लेखक तथा अनुसन्धानकर्ता सत्यराज जोशीद्वारा लिखित कृति ‘कर्मपथ’ आज काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच औपचारिक रूपमा विमोचन गरिएको छ। नित्य पब्लिकेशन्सद्वारा प्रकाशित उक्त पुस्तकले पूर्वीय दर्शनमा आधारित “कर्म गर, फलको आश नगर” भन्ने मूल भावलाई समकालीन जीवन सन्दर्भसँग जोड्दै गहिराइका साथ प्रस्तुत गरेको छ।

विमोचन समारोहमा सहभागी वक्ताहरूले ‘कर्मपथ’ लाई जीवनको उद्देश्य, आत्मअन्वेषण र नैतिक जिम्मेवारीबारे गम्भीर विमर्श गर्ने कृतिका रूपमा मूल्यांकन गरे। उनीहरूको धारणा अनुसार, पुस्तकले कर्म र चेतनाको सम्बन्धलाई सरल तर प्रभावकारी भाषाशैलीमा प्रस्तुत गर्दै पाठकलाई आत्मचिन्तनतर्फ डोर्याउने सामर्थ्य राख्दछ। साथै, प्रेरणात्मक तथा दार्शनिक विधालाई सुदृढ बनाउने दिशामा अंग्रेजी भाषामा तयार गरिएको यो कृति महत्वपूर्ण योगदान हुन सक्ने उल्लेख गरिएको थियो।

कार्यक्रममा पूर्वराजदूत तथा प्राध्यापक मोहनराज लोहनी, पूर्वराजदूतहरु शम्भुराज सिंखडा र रमेश कोइराला, प्राध्यापक कृष्णचन्द्र शर्मा, लेखक शिरीष भण्डारीलगायत विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लेखक जोशी शिक्षण, अनुसन्धान र लेखनमा सक्रिय रहँदै आएका छन्। शान्ति जर्नलका प्रधान सम्पादकसमेत रहेका उनले शान्ति, शिक्षा र सामाजिक रूपान्तरणका विषयमा अन्तर्राष्ट्रिय स्तरका संवादहरू सञ्चालन गर्दै आएका छन्। ‘कर्मपथ’ मा उनले कर्मको दार्शनिक आधार, आत्मअनुशासन, जीवनको उद्देश्य र आत्मबोधका विषयहरूलाई क्रमबद्ध रूपमा प्रस्तुत गरेका छन्।

पुस्तकको प्रारम्भिक अध्यायमै “कर्म र जीवनको उद्देश्य” विषयक विमर्श प्रस्तुत गर्दै लेखकले जीवनलाई अर्थपूर्ण बनाउने यात्रामा कर्मको केन्द्रीय भूमिका औंल्याएका छन्। कृतिभरि आत्मअनुशासन, सचेत जीवनशैली र आन्तरिक खोजलाई विशेष महत्व दिइएको छ, जसले पाठकलाई आफ्नो अस्तित्व र गन्तव्यबारे पुनर्विचार गर्न प्रेरित गर्दछ।

‘कर्मपथ’ नजिकका पुस्तक पसलहरूमा उपलब्ध हुनुका साथै प्रकाशकमार्फत पनि अर्डर गर्न सकिने जनाइएको छ। Call / WhatsApp : 9843445441

प्रतिक्रिया दिनुहोस्