राष्ट्र बैंक अगाडि नयाँ नोट लिन बिहानैदेखि लाइन

राष्ट्र बैंक अगाडि नयाँ नोट लिन बिहानैदेखि लाइन

काठमाडौँ । दसैं र तिहारलाई लक्ष्य गरी राष्ट्र बैंकले शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण सटही गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको छ । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र अन्य संघ संस्थालाई पहिलो साता ५ र६ गते देखि नै नोट वितरण गरिसकेको छ । ती संस्थाले पहिल्यै नयाँ नोट पाइए पनि सर्वसाधारणले दोस्रो सातादेखि नोट सटही सुविधा पाउने छन् ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा कागजी नोट वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी तीन महिनासम्म जेल हाल्न र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनले दिएको छ । यसरी तोकिएको आफूलाई पाएक पर्ने स्थानमा गएर नयाँ नोट सटही गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ 

भवन निर्माणको काम भइरहेकाले यसपालि थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा दिइने छैन । यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिनेछ । यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ। सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल बिटा नयाँ नोट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । गत वर्ष सर्वसाधारणले ५, १०, २० र ५० दरका दुई बन्डल बिटा र एक सयको एक बिटा गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही सुविधा पाएका थिए । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्