
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि खसेको पहिरोको कारण काभ्रेपलाञ्चोक खण्डमा पर्ने बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडकका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन ठप्प भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेको छ । यी स्थानमा पहिरो र लेदोले सडक ढाकिएपछि बीपी राजमार्गबाट सवारी आवागमन हुन सकेको छैन ।
लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । सडक खुलाउन आवश्यक उपकरण परिचालन गरिए पनि वर्षा नरोकिएसम्म काममा थप चुनौती आउन सक्ने भएकाले यात्रु तथा चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
यसैबीच पनौती हुँदै बग्ने रोशी खोलाको जलसतहसमेत सतर्कता तह पार गरेर बढिरहेको छ । पनौतीस्थित जलमापन केन्द्रमा पानीको सतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने स्थानमा रहेका नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि यातायात प्रभावित भएको हो।

प्रहरीका अनुसार काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारीसाधन रोकिएका छन्। लगातार वर्षा भइरहेकाले राजमार्ग खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ।
राजमार्गका विभिन्न स्थानमा पहिरो हटाउने काम तत्काल सहज नभएकाले यात्रु तथा चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्