“बाबा, हाम्रो स्कुलमा भोलि दर खाने रे। म्यामले रातो लुगा लगाएर आउनु भन्नुभएको छ। म कुन लुगा लगाऊँ?”
नर्सरीमा पढ्ने मेरी सानी छोरीको यो प्रश्न सुन्दा म केही क्षण सोचमग्न भएँ। उसले उत्साहपूर्वक भोलिको तयारी गर्दै लुगा छान्न थालिसकेकी थिई। मैले सहजै सोधेँ—
“छोरी, दर भनेको के हो? दरमा के खाने रे?”
उसले सरल उत्तर दिई—
“खै बाबा, म्यामले दर खाने भन्नुभएको छ।”
उसको उत्तर सुनेपछि मेरो मनमा अनेक प्रश्न उठे। तीज आउन अझै केही दिन बाँकी थियो। सानी छोरीलाई दरको अर्थ थाहा थिएन, त्यो स्वाभाविक पनि थियो। तर उसलाई दरको वास्तविक अर्थ बुझाउने जिम्मेवारी कसको हो—घरपरिवारको, विद्यालयको कि समाजको?
भोलिपल्ट विद्यालयबाट घर फर्किएपछि ऊ निकै खुसी हुँदै भनी—
“बाबा, दर खाने भनेको त खिर, आलु अनि चिची पो रहेछ। त्यो त हामीले घरमा पनि खाएकै हो नि!”
म मुस्कुराएँ। अनि उसलाई सम्झाउने प्रयास गरेँ—“हो छोरी, ती सबै मिठा खानेकुरा हुन्। तर परम्परागत रूपमा तीजसँग जोडिएको ‘दर’ को आफ्नै सांस्कृतिक अर्थ र विशेषता छ।”
यहीँबाट मेरो मनमा एउटा गम्भीर प्रश्न उठ्यो—हामीले हाम्रा बालबालिकालाई चाडपर्वको नाम त सिकाइरहेका छौँ, तर त्यसको वास्तविक अर्थ र सांस्कृतिक महत्त्व पनि सिकाइरहेका छौँ त?
नेपाली समाजमा हरितालिका तीजको आफ्नै सांस्कृतिक र सामाजिक महत्त्व छ। विशेष गरी विवाहित चेलीबेटीहरू माइत जाने, परिवारसँग भेटघाट गर्ने, दिदीबहिनीबीच सुखदुःख साटासाट गर्ने र आत्मीय सम्बन्धलाई पुनः ताजा बनाउने पर्वका रूपमा तीज मनाइँदै आएको छ। तीजको अघिल्लो दिन विशेष प्रकारको मिठो–मसिनो भोजन गर्ने परम्परालाई ‘दर खाने’ भनेर बुझिन्छ। भोलिपल्ट व्रत बस्ने चलन भएकाले शरीरलाई आवश्यक ऊर्जा मिल्ने गरी भोजन गर्ने परम्परा रहेको पाइन्छ। हाम्रो गाउँघरमा पहिले तीज आउनुअघि नै छुट्टै उत्साह हुन्थ्यो। माइत आएका चेलीबेटीहरू, दिदीबहिनी र परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन्थे। भात, तरकारी, अचार, खिर, दूध तथा अन्य परम्परागत परिकार तयार हुन्थे। रातिसम्म बसेर दुःख–सुखका कुरा गरिन्थ्यो। वास्तवमा दरको सुन्दरता परिकारको सङ्ख्या वा खानाको महँगाइमा थिएन। यसको सुन्दरता आत्मीयता, भेटघाट र सम्बन्धको मिठासमा थियो।
आजभोलि बदलिँदै गएको छ दरको स्वरूप, समयसँगै समाज परिवर्तन हुनु स्वाभाविक हो। जीवनशैली बदलिन्छ, मानिसहरूको सोच बदलिन्छ र चाडपर्व मनाउने तरिका पनि परिवर्तन हुन्छ। परिवर्तन आफैँमा नराम्रो होइन। तर परिवर्तनले संस्कृतिको मूल मर्म नै विस्थापित गर्न थाल्यो भने त्यसबारे सोच्नु आवश्यक हुन्छ।आजभोलि दरको नाममा विभिन्न ठाउँमा कार्यक्रम आयोजना हुने गरेका छन्। कार्यालयमा दर कार्यक्रम, विद्यालयमा दर कार्यक्रम, विभिन्न संघसंस्था र समूहमा दर कार्यक्रम—तीज सुरु हुनुभन्दा धेरै अघिदेखि नै कार्यक्रमको चहलपहल देखिन्छ। भेटघाट गर्नु, रमाइलो गर्नु र सामूहिक रूपमा चाडपर्व मनाउनु गलत होइन। तर कतिपय अवस्थामा अनावश्यक खर्च, देखासिकी र प्रतिस्पर्धा प्रमुख बन्न थालेको देखिन्छ। कसको सारी महँगो? कसको गहना धेरै? कसले ठूलो होटलमा कार्यक्रम गर्यो? कसले कति खर्च गर्यो? यस्ता प्रश्नहरूले कतै चाडपर्वको वास्तविक खुसीलाई ओझेलमा पारिरहेका त छैनन्? तीजको वास्तविक सौन्दर्य महँगो पहिरन वा भव्य भोजमा होइन। मनको खुसी, पारिवारिक प्रेम र सामाजिक आत्मीयतामा छ।
बालबालिका समाजका भविष्य हुन्। उनीहरूले घर, विद्यालय र समाजबाट जे सिक्छन्, त्यसले उनीहरूको सोच र व्यवहार निर्माण गर्छ। त्यसैले विद्यालयले चाडपर्व मनाउँदा केवल रातो पहिरन लगाउने, नाचगान गर्ने र खानपिनमा सीमित हुनु पर्याप्त हुँदैन। विद्यालय बालबालिकालाई ज्ञान र संस्कार दिने संस्था हो। त्यसैले तीज वा अन्य चाडपर्वको अवसरमा विद्यार्थीलाई यसको ऐतिहासिक र सांस्कृतिक पक्ष, सामाजिक महत्त्व,सकारात्मक मूल्य,पारिवारिक सम्बन्ध,नेपाली मौलिकता बारे जानकारी दिनु आवश्यक छ।
बालबालिकाले “दर” भनेको केवल कुनै विशेष खानाको नाम हो भन्ने बुझाइ मात्र लिएर घर फर्किनु भन्दा त्यसको सांस्कृतिक सन्दर्भ बुझ्न सकून् भन्ने वातावरण बनाउनु आजको आवश्यकता हो। हामीले संस्कृति जोगाउने नाममा केवल बाहिरी प्रदर्शनमा जोड दियौँ भने भोलिको पुस्ताले संस्कृतिको वास्तविक अर्थ कसरी बुझ्ला?
आज सामाजिक सञ्जालले पनि चाडपर्व मनाउने शैलीमा ठूलो प्रभाव पारेको छ। राम्रो पहिरन, आकर्षक सजावट र महँगो भोजका तस्बिरहरू सार्वजनिक गर्ने प्रतिस्पर्धा बढ्दै गएको अनुभूति हुन्छ। तर एउटा प्रश्न आफैँसँग सोधौँ—चाडपर्व अरूलाई देखाउनका लागि हो कि मनदेखि खुसी हुनका लागि? आर्थिक अवस्था कमजोर भएका मानिसहरू पनि सामाजिक दबाबका कारण महँगो पहिरन र अनावश्यक खर्च गर्न बाध्य हुने अवस्था सिर्जना हुनु राम्रो संकेत होइन। तीज सबैका लागि हो—धनीका लागि मात्र होइन। त्यसैले तीजको खुसी पनि सबैले आफ्नो क्षमता र परिस्थितिअनुसार मनाउन सक्ने हुनुपर्छ। “जे छ, त्यसैमा सन्तुष्ट भएर हाँसीखुसी बस्न सक्नु नै चाडपर्वको सबैभन्दा ठूलो सौन्दर्य हो।”

चाडपर्व केवल व्यक्तिगत मनोरञ्जनको विषय मात्र होइन, सामाजिक चेतना र मानवीय संवेदनासँग पनि जोडिएको हुन्छ। समाजमा कतिपय मानिस आर्थिक अभावमा छन्। कतिपय प्राकृतिक विपत्ति र विभिन्न समस्याबाट पीडित छन्। यस्तो अवस्थामा अत्यधिक खर्च गरेर केवल प्रदर्शन गर्नुको सट्टा आवश्यकतामा रहेका मानिसहरूलाई सहयोग गर्न सके चाडपर्व अझ अर्थपूर्ण बन्न सक्छ। एक दिनको भव्य भोजमा खर्च हुने रकमले कसैको घरमा केही दिनको चुलो बल्न सक्छ। महँगो सजावटमा खर्च हुने रकमले कुनै विद्यार्थीको पढाइमा सहयोग पुग्न सक्छ। त्यसैले चाडपर्व मनाउँदै गर्दा सामाजिक जिम्मेवारी पनि सम्झन सक्नुपर्छ।
मानवता र सहयोगभन्दा ठूलो कुनै संस्कृति हुँदैन।नयाँ पुस्तालाई सही बाटो देखाऔँ। हाम्रो संस्कृति र परम्परा हाम्रो पहिचान हो। यसलाई जोगाउनु हाम्रो साझा दायित्व हो। तर संस्कृति जोगाउनु भनेको केवल पुराना परम्परा दोहोर्याउनु मात्र होइन; यसको राम्रो पक्षलाई नयाँ पुस्तासम्म सही रूपमा पुर्याउनु पनि हो।
बालबालिकालाई तीज किन मनाइन्छ? दर भनेको के हो? यसको सामाजिक महत्त्व के हो? चाडपर्वले परिवार र समाजलाई कसरी जोड्छ?—यी विषयमा घर र विद्यालय दुवैले सही जानकारी दिनुपर्छ। यदि हामीले आज सही संस्कार र सही ज्ञान दिन सकेनौँ भने भोलिको पुस्ताले चाडपर्वलाई केवल खानपिन, पहिरन र मनोरञ्जनको माध्यमका रूपमा मात्र बुझ्न सक्छ।

तीज नेपाली समाजको सुन्दर सांस्कृतिक पर्व हो। यसलाई आधुनिकताको नाममा विकृत बनाउनु पनि हुँदैन र परिवर्तनको डरले खुसी मनाउन रोक्नु पनि हुँदैन। आवश्यक कुरा केवल यति हो—हामीले यसको मूल मर्मलाई बिर्सनु हुँदैन। दर भनेको केवल खिर, मिठाई वा भोजको नाम होइन। यो परिवारसँग बस्ने अवसर हो। दिदीबहिनीबीच आत्मीयता बाँड्ने माध्यम हो। विगतका दुःख–सुख सम्झने र भविष्यका लागि सम्बन्ध बलियो बनाउने अवसर हो।
आउनुहोस्, तीजलाई प्रतिस्पर्धा होइन, प्रेमको पर्व बनाऔँ।
दरलाई देखासिकी होइन, आत्मीयताको माध्यम बनाऔँ।
चाडपर्वलाई खर्चको प्रदर्शन होइन, संस्कृतिको संरक्षणसँग जोडौँ।
महँगो पहिरनले होइन, मनको खुसीले तीज सुन्दर हुन्छ।
ठूलो भोजले होइन, आत्मीयताले दर मीठो हुन्छ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
जे छ, त्यसैमा खुसी रहौँ, आफ्नो संस्कृतिलाई सम्मान गरौँ र हाँसीखुसी तीज मनाऔँ।
धन्यवाद।
लेखकः सुदर्शन अधिकारी


प्रतिक्रिया दिनुहोस्