तुलसीपुर नगरको उदाहरणीय काम: छोरी जन्मिए २० वर्षसम्म भत्ता

तुलसीपुर नगरको उदाहरणीय काम: छोरी जन्मिए २० वर्षसम्म भत्ता

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाह रोक्नका लागि नगरले आगामी आर्थिक वर्षको कार्यक्रममा ‘विहेवारी बीस पारी’ भन्ने नीति अगाडि सारेको हो । सानै उमेरमा विवाह गर्दा समस्या आउने भएकाले त्यसलाई रोक्नका लागि अभियान सुरु गर्न लागिएको उपमहानगरालिकाले जनाएको छ ।

मेयर घनश्याम पाण्डेका अनुसार छोरी जन्मने वित्तिकै उनीहरुलाई मासिक १ सय रुपियाँ दिइनेछ । हरेक महिना १ सय कै दरले त्यो पैसा उनीहरुकै नाममा बैकमा जम्मा गरिनेछ । उनीहरुको उमेर २० वर्ष नपुग्दा सम्म सोही अनुसार पैसा बैंकमा जम्मा गरिनेछ । २० वर्षभन्दा अगाडि कसैले विवाह गरेको पाइएमा सबै पैसा उपमहानगरपालिका कै खातामा फिर्ता हुनेछ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नका लागि कानुनले रोकेपनि व्यवहारतः याे लागु लागु हुन सकेकाे छैन ।

छोरीको जन्म दर्ता गर्न आउदा विभिन्न स्वास्थ्य सम्वन्धि जनचेतना समेत दिईको उपमेयर माया शर्माले बताउनुभयो । उहाँले ‘आमा र बच्चाको स्वास्थ्य स्वस्थ्य राख्नका लागि चिकित्सकले सल्लाह दिने बताउभयाे ।

नगरले ल्याएको यस्तो नीतिप्रति महिला अधिकारकर्मीहरुले खुसी व्यक्त गरेका छन् । यसलाई व्यवहारतः लागु गर्नका लागि उपमहानगरलाई सुझाव समेत दिएका छन् । महिला अधिकारकर्मी सुष्मा गिरी यो नीति कार्यान्वयन भएमा बालविवाह न्युनीकरण हुने विश्वास व्यक्त गर्नुभयाे ।

ओरेक नेपालकी मनोविमर्शकर्ता सुशिला आचार्यले छोरीलाई प्रोत्साहन रकम दिने नीतिले समाजमा भ्रुण हत्या जस्तो जघन्य अपराध हटेर जाने बताउदँदै, ‘छोरीको दायित्व राज्यले पनि लिएको छ भन्ने कुराको अभिभावकमा प्रेरणा जाग्ने गर्दछ ’ भन्नुभयो ।

मातृशिशु मृत्युदर कम गर्नका उपमहानगरपालिकाले सुत्केरी भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्