सुरक्षाकर्मीको सहयोगमा बाहिरिएका थिए शिक्षामन्त्री पोखरेल

सुरक्षाकर्मीको सहयोगमा बाहिरिएका थिए शिक्षामन्त्री पोखरेल

सिरहा।। सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका मन्त्री पोखरेलले सम्बोधन गरिरहेका बेला विवाद सिर्जना भएको हो । कार्यक्रममा मन्त्री पोखरेलसहित प्रतिनिधिसभा सदस्य शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक लगायतको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो गरी पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सीधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बिचमै गुनासो गरेका थिए । महतोका अनुसार आफूले मात्र नभई कार्यक्रममा सहभागी शिक्षक तथा अन्य जनप्रतिनिधिले समेत बोल्ने अवसर र कार्यक्रम सञ्चालनको विषयमा असन्तुष्टि जनाएका थिए ।

तर, मन्त्रीसँगै आएका केही व्यक्तिले ‘यो नेताहरूले बोल्ने कार्यक्रम होइन’ भन्दै आफूहरूमाथि अपमानजनक व्यवहार गरेको उनको आरोप छ ।

‘यो गुनासो मेरो मात्रै थिएन, त्यहाँ सहभागी शिक्षक र अन्य जनप्रतिनिधि साथीहरूको पनि थियो,’ महतोले भने, ‘तर मन्त्रीज्यूसँग आउनुभएका केही साथीहरूले अपमानजनक ढंगले चुप लगाउन खोज्नुभयो । हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो ?’ 

विवाद भइरहेकै बेला सहभागीहरू बसेको कुर्सीबाट भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल फोन खोस्न लगाइएको विषयले पनि विवाद चर्किएको थियो । 

महतोका अनुसार मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भन्दै यादवको मोबाइल खोस्न लगाएका थिए । त्यसपछि कार्यक्रमस्थलमा होहल्ला भएको थियो । विवाद चर्किएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य छोट्याउँदै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थल छाडेका थिए । 

यता, रास्वपा सांसद शिव यादवले भने कार्यक्रममा भएको विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो नै रहेको आरोप लगाएका छन् । घटनाबारे दुवै पक्षले फरक–फरक दाबी गरेपछि पाठ्यक्रमका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रम विवादमा परिणत भएको हो ।

प्रतिक्रिया दिनुहोस्