काठमाडौँ । पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकाको वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो देखिएको छ भने घामसमेत राम्रोसँग लाग्न सकेको छैन। बिहानैदेखि वातावरण धुम्म देखिँदा दृश्य क्षमता घटेको छ, जसका कारण सवारी साधन सञ्चालन र हवाई उडानमा समेत सामान्य असर परेको छ।
वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक अस्वस्थकर तहमा पुगेको छ। पछिल्लो मापनअनुसार काठमाडौँको करिब १७० भन्दा माथि पुगेको छ, जुन “अस्वस्थकर” श्रेणीमा पर्छ। यस्तो अवस्थामा सबै मानिसको स्वास्थ्यमा असर पर्न सक्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहने जनाइएको छ।
लामो समयदेखि हिउँदे वर्षा नहुनु, देशका विभिन्न स्थानमा लागेको डढेलोबाट आएको धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो, सवारी साधनबाट निस्कने धुवाँ र उद्योग–कलकारखानाबाट निस्कने प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको वातावरणविद्हरूले बताएका छन्। उपत्यकाको भौगोलिक बनावट कटोराजस्तो भएकाले प्रदूषित हावा लामो समयसम्म जमेर बस्ने अवस्था पनि प्रदूषण बढ्नुको अर्को कारण मानिएको छ।
प्रदूषण बढेसँगै सर्वसाधारणले आँखा पोल्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा असहजता महसुस गर्न थालेका छन्। स्वास्थ्य विज्ञहरूले अत्यावश्यक बाहेक घरबाहिर कम निस्कन, निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। तत्काल ठूलो वर्षा वा तीव्र हावा चल्ने सम्भावना कम भएकाले आगामी केही दिनसम्म प्रदूषणको अवस्था यस्तै रहने अनुमान गरिएको छ। वातावरण स्वच्छ राख्न अनावश्यक सवारी साधनको प्रयोग घटाउन, फोहोर नजलाउन र वातावरणमैत्री व्यवहार अपनाउन सरोकारवाला निकाय तथा विज्ञहरूले सबैलाई आग्रह गरेका छन्।
वायु प्रदूषण नियन्त्रणका लागि स्वच्छ ऊर्जा प्रयोग, सवारी साधनको धुवाँ परीक्षण, निर्माणस्थलमा धुलो नियन्त्रण तथा वातावरणमैत्री विकास गतिविधिमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ। यसतर्फ सबै पक्षले ध्यान दिएमा उपत्यकाको वायु गुणस्तर सुधार हुँदै जाने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्