झापा जिल्लामा चैते धान रोपाइँ सुरु, मेसिन प्रयोग बढ्दो

झापा जिल्लामा चैते धान रोपाइँ सुरु, मेसिन प्रयोग बढ्दो

जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट रोपाइँ थालिएको हो। चैतको दोस्रो सातासम्म जिल्लाभरि रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।

परम्परागत विधिको सट्टा मेसिनको प्रयोग बढ्दै जाँदा रोपाइँ कार्य छिटो र व्यवस्थित रूपमा अघि बढेको छ। जिल्लाका विभिन्न स्थानमा करिब १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) सञ्चालनमा छन्। कतिपय स्थानमा बिरुवा तयार भइसकेका छन् भने केही ठाउँमा बीउ राख्ने कार्य जारी छ।

गत वर्ष झापामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो। यस वर्ष भने मकै खेतीतर्फ आकर्षण बढेकाले धान खेतीको क्षेत्रफल १५ देखि २० प्रतिशतसम्म घट्ने आकलन गरिएको छ। विगत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) करिब रु. ७०० मा सीमित हुँदा अपेक्षित प्रतिफल नपाएकाले केही किसान वैकल्पिक बालीतर्फ मोडिएका छन्।

जिल्लामा मुख्यतः ‘हर्दिनाथ–१’ जातको धान लगाउने चलन रहे पनि यस वर्ष ‘हर्दिनाथ–६’ जाततर्फ पनि चासो देखिएको छ। मोरङस्थित एक चामल उद्योगले ‘हर्दिनाथ–६’ प्रतिमन रु. १,००० मा खरिद गर्ने पूर्वसहमति जनाएपछि किसानहरू उक्त जाततर्फ आकर्षित भएका हुन्। बिक्री सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य प्रस्तावले उत्पादनमा उत्साह थपिएको छ, यद्यपि अधिकांश किसानले अझै ‘हर्दिनाथ–१’ लाई प्राथमिकतामा राखेका छन्।

कृषि प्राविधिकहरूको सहयोगमा ‘छरुवा धान’ प्रविधिलाई समेत विस्तार गरिएको छ। नयाँ क्षेत्र पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रोत्साहन गरिएको छ। उचित व्यवस्थापन भए उत्पादन राम्रो हुने भए पनि झार नियन्त्रणमा प्राविधिक सावधानी आवश्यक पर्ने देखिएको छ।

धान खेतीका लागि आवश्यक रासायनिक मल तथा अन्य कृषि सामग्रीको हाल जिल्लामा अभाव नरहेको जनाइएको छ। समयमै रोपाइँ, उन्नत बीउको प्रयोग र बजार सुनिश्चितताले यस वर्ष उत्पादनमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्