जिरी — दोलखा जिल्ला को सुन्दर र शान्त पर्यटकीय गन्तव्य जिरी पछिल्लो समय पार्क पर्यटनका कारण थप आकर्षक बन्दै गएको छ। सदरमुकाम चरिकोट बाट करिब ५५ किलोमिटर दूरीमा अवस्थित जिरी प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण र हरियालीले भरिपूर्ण क्षेत्र हो।
‘क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी’ भन्ने नारालाई व्यवहारमा उतार्दै जिरीले पर्यटकलाई फरक अनुभव प्रदान गर्दै आएको छ। यहाँको बसाइँ केवल बजार घुमाइमा सीमित नरही आसपासका पार्कहरू अवलोकनमा केन्द्रित हुन थालेको छ।
जिरी क्षेत्रमा रहेका स्टोन पार्क, पिकनिक पार्क कुथामे, क्याङसे पोखरी पार्क, झण्डा पार्क, गुराँस पार्क, टोनी हागन पार्क, बुद्ध पार्क तथा खावाडाँडा भ्यूटावर पार्क जस्ता गन्तव्यहरूले पर्यटकको ध्यान तानेका छन्। यी स्थानहरू छोटो दूरीमै रहेकाले सीमित समयमा धेरै अनुभव लिन चाहनेका लागि उपयुक्त मानिन्छन्।
यी पार्कहरूबाट मौसमअनुसार तराईदेखि हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ। गुराँसले ढाकिएका डाँडाहरू, कृत्रिम तथा प्राकृतिक पोखरी, शीतल हावा र चराको मधुर आवाजले यहाँको वातावरणलाई थप आकर्षक बनाएको छ। यसले मानसिक शान्ति र ताजगी प्रदान गर्ने भएकाले आन्तरिक पर्यटनमा जिरीको महत्व बढ्दो देखिन्छ।
साँझ–बिहान जिरीको लिंकन बजार क्षेत्र डुल्न उपयुक्त मानिन्छ भने दिउँसो आसपासका पार्कहरू भ्रमण गर्दा फरक अनुभव मिल्छ। पछिल्लो समय स्थानीय स्तरमै कफी सप तथा पर्यटक सेवाहरू विस्तार हुँदै गएका छन्। लिंकन बजारमा सञ्चालनमा आएको ‘उजामा कफी’ जस्ता स्थानले पर्यटकको बसाइँलाई अझ सहज र रमाइलो बनाएको छ।
साथै, पर्यटकलाई नयाँ गन्तव्यसम्म पुर्याउन स्थानीय स्तरमा टुरिस्ट गाइडको व्यवस्था पनि विस्तार हुँदै गएको छ। यसले जिरीलाई व्यवस्थित र सुरक्षित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
नयाँ वर्ष वा छोटो अवकाशमा प्रकृतिसँग नजिक हुन चाहनेका लागि जिरी उत्कृष्ट विकल्पका रूपमा उभिएको छ। दिनप्रतिदिन नयाँ आकर्षण थपिँदै गएको जिरीले आन्तरिक तथा बाह्य पर्यटकलाई खुलेर स्वागत गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्