चितवन राष्ट्रिय निकुञ्जमा जाडोयामका आगन्तुक चरा फर्किन थाले

चितवन राष्ट्रिय निकुञ्जमा जाडोयामका आगन्तुक चरा फर्किन थाले

चितवन, फागुन अन्तिम साता — जाडो छल्न हिमालपारि देशहरूबाट नेपाल आएका आगन्तुक चरा फर्किन थालेका छन्। असोजदेखि आउन सुरु गरेका हाँस प्रजातिसहितका चराहरू गर्मीको संकेतसँगै आ–आफ्नो प्रजननस्थलतर्फ प्रस्थान गर्न थालेका हुन्।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा हरेक वर्ष अक्टोबरदेखि फेब्रुअरीसम्म उल्लेख्य संख्यामा हाँस प्रजातिका चरा देखिन्छन्। फेब्रुअरीको अन्तिम सातादेखि फर्किन सुरु गरेका ती चरा मार्च अन्त्यसम्म प्रायः सबै उडिसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले जानकारी दिए। मङ्गोलिया, रुस, उज्बेकिस्तान, चीन, पाकिस्तान तथा दक्षिण–पूर्व एशियाका केही देशबाट आउने यी चराहरू कालीगण्डकीको खोँच हुँदै चितवन आइपुग्ने गर्छन्। कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छे, मालक, खडखडे, बिजुला, गैरी जस्ता हाँस प्रजातिसँगै बाज, चिल, चाचर, चुइया र भारद्वाजसमेत यहाँ देखिने गर्छन्।

निकुञ्जभित्र बग्ने नारायणी, राप्ती र रिउ नदीका किनार, तालतलैया तथा घाँसेमैदान यस्ता चराका प्रमुख वासस्थान हुन्। बाहिरबाट आउने करिब १२ देखि १५ प्रजातिका हाँस चितवनका सिमसार क्षेत्रमा नियमित रूपमा पाइन्छन्। देशभर करिब १५० प्रजातिका चरा हिउँदमा आगन्तुक रूपमा नेपाल आउने तथ्याङ्क छ।

विशेषज्ञका अनुसार पृथ्वीको उत्तरी ध्रुवतर्फ जाडोयाममा दिन छोटो र रात लामो हुने भएकाले चर्न पर्याप्त समय नपुग्दा चरा दक्षिणतर्फ सर्ने गर्छन्। करिब छ महिनापछि प्रजननकाल सुरु हुँदा ती चरा पुनः उत्तरतर्फ फर्किन्छन्।

नेपालमा हालसम्म ९०० भन्दा बढी प्रजातिका चरा अभिलेखित छन्। तीमध्ये ६५० भन्दा बढी प्रजाति चितवन क्षेत्रमा मात्र पाइने तथ्याङ्कले देखाउँछ। यसले चितवनलाई अन्तर्राष्ट्रिय स्तरमै महत्त्वपूर्ण पक्षीवासस्थानका रूपमा स्थापित गरेको छ यसैबीच, गर्मीयाममा भारततर्फबाट आउने चरा नेपाल प्रवेश गर्न थालेका छन्। जाडोका पाहुना फर्किँदै गर्दा गर्मीका आगन्तुक चरा आउन थालेकाले चितवनका सिमसार क्षेत्र वर्षभरि नै चराको गतिविधिले जीवन्त रहने देखिएको छ।

पक्षीको आवागमनले जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याइरहेको सरोकारवालाहरू बताउँछन्। चराको सुरक्षित वासस्थान जोगाउन सिमसार संरक्षण, प्रदूषण नियन्त्रण र अवैध सिकार रोकथाममा सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्