गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

सर्लाही । गोलभेँडाको बजार मूल्य उल्लेख्य रूपमा बढेपछि सर्लाहीका किसान उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचित हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत क्षेत्रका किसान यतिबेला खेतबाट गोलभेँडा टिप्ने र बजार पुर्‍याउने काममा व्यस्त देखिन्छन् ।

हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतो यस वर्ष गोलभेँडाबाट अपेक्षाभन्दा राम्रो आम्दानी भएपछि खुसी देखिन्छन् । तीन बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरेका उनले सिजनको सुरुआतदेखि हालसम्म निरन्तर बिक्री गरिरहेका छन् । यस वर्ष गोलभेँडा प्रतिकरेट एक हजार सात सयदेखि दुई हजार सात सय रुपैयाँसम्ममा बिक्री भएको छ । हालसम्म करिब आठ लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री भइसकेको र अझै थप आम्दानी हुने अनुमान उनको छ ।

विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आएका महतोका लागि गत वर्ष भने निकै कठिन रह्यो । मूल्य नपाउँदा लगानीसमेत उठ्न नसकेपछि खेत जोत्नुपरेको उनको अनुभव छ । तर, यस वर्षको आम्दानीले अघिल्लो वर्ष लागेको करिब १० लाख रुपैयाँ ऋणको अधिकांश हिस्सा तिर्न सफल भएका छन् । बाँकी ऋण पनि यसै सिजनमा चुक्ता हुने विश्वास उनले व्यक्त गरेका छन् ।

यस वर्षजस्तो मूल्य पहिले कहिल्यै नपाएको किसानहरूको भनाइ छ । गत वर्षको घाटाका कारण धेरै किसानले गोलभेँडा खेती घटाएपछि यस पटक बजारमा आपूर्ति कम भएको छ । त्यसमाथि बेमौसमी वर्षा र छिमेकी बजारमा समेत उत्पादन घटेका कारण मूल्य स्थिर र उच्च बनेको किसान तथा व्यवसायीहरूको आकलन छ ।

गत वर्ष मूल्य नपाएर खेतीबाट पछि हटेका किसानहरू अहिले पछुतो मानिरहेका छन् भने निरन्तर खेती गरेका किसानहरू सन्तुष्ट देखिन्छन् । अघिल्ला वर्षमा सिजनको सुरुआतमा मात्रै राम्रो मूल्य पाइने र केही दिनमै मूल्य घट्ने अवस्था थियो । तर, यस पटक भने करिब चार महिनासम्म एकनासको मूल्य कायम रहनुले किसानलाई ठूलो राहत दिएको छ ।

हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेल विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएका छन् । उनका अनुसार यसअघि छोटो समयका लागि मात्रै उच्च मूल्य पाइने गरेको थियो । तर, यस वर्ष लामो समयसम्म स्थिर मूल्य कायम रहनु ऐतिहासिक अनुभव भएको उनी बताउँछन् ।

त्यसैगरी हरिवन नगरपालिका–१ का किसान जितेन्द्र महतो पनि यस वर्षको आम्दानीले गत वर्षको ऋण तिर्ने तयारीमा छन् । तीन बिघा खेतमा लगाएको गोलभेँडाबाट हालसम्म करिब सात लाख रुपैयाँ बराबरको उत्पादन बजारमा पुर्‍याइसकेका छन् । मूल्य स्थिर रहेकाले उनले अन्य किसानको गोलभेँडा समेत संकलन गरेर बजारसम्म पुर्‍याउने काम गरिरहेका छन् ।

सर्लाहीको उत्तरी क्षेत्र सिँचाइको सीमित सुविधाका कारण तरकारीखेतीमा निर्भर छ । यहाँ सिँचाइको मुख्य विकल्प डिप बोरिङ भएकाले कम पानीमा उत्पादन हुने गोलभेँडा, परवल, बोडी, सिमी, काक्रो, करेला, काउली, भान्टा, बन्दा, भिण्डी र खोर्सानीजस्ता तरकारीको खेती व्यापक रूपमा हुने गरेको छ ।

यहाँ उत्पादन भएका तरकारी दैनिक रूपमा लालबन्दीस्थित कृषि थोक बजारमा संकलन गरिन्छ । त्यहाँबाट काठमाडौँ, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत देशका प्रमुख सहरमा आपूर्ति हुने गरेको छ । किसानले उत्पादनको उचित मूल्य पाउन थालेपछि आगामी दिनमा तरकारीखेती थप विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्