मन्थली । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री बालज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई माघ १३ गते सोमबार न्यानो ज्याकेट, झोला, कपी, कलम र पिउने पानीको बोतल वितरण गरियो , यसबाट त्यहाँ अध्ययनरत विद्यार्थीका मुहारमा खुशियाली छाएको देखियो । यो पुण्य कार्य युवा समाजसेवी तथा सोही वडा स्थायी घर हुने र त्यसै विद्यालयमा अध्ययन गर्नु भएका रामकुमार बोहराको अगुवाईमा भएको थियो ।

यसका लागि लायन्स क्लब अफ काठमाडौं युरेका र काठमाडौं युरेका लियो क्लबले सहयोग तथा सहकार्य गरेका थिए । उक्त संस्थाबाट अध्यक्ष कुसुम पौडेल, सचिव अनिसा कार्कीसहित पाँच जनाको सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयबाट बिबिएमा ४ जिपिए ल्याएर सर्वोत्कृष्ट विद्यार्थी बन्ने विद्यार्थीको रुपमा पनि अनिसा कार्कीलाई धेरैले चिन्ने गर्दछन् । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर बोहरा, कार्यवाहक वडा अध्यक्ष सरोजकुमार आलेमगर र विद्यालयका प्रधानाध्यापक प्रकाश कुमार श्रेष्ठ लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रदिप कुमार श्रेष्ठले गर्नुभएको थियो ।

त्यहाँ उपस्थित अतिथि, अभिभावक तथा विद्यार्थीहरुले समेत रामकुमार बोहराको सक्रियताको चर्चा गरिरहेका थिए ।
साविकको तिल्पुङ र हालको लिखु तामाकोसी गाउँपालिका वडा नं. ७ स्थायी घर भएता पनि काठमाडौं उपत्यका लगायतका अन्य जिल्लाहरु पनि व्यवसायिक काम र समाजसेवाको लागि बोहरा सधैं अग्रसर हुनुहुन्छ । यूवा भएता पनि पाको उमेरका र साना बालबालिका र युवाहरु माझ त्यतिकै घुलमिल हुने उहाँको स्वभाव छ ।

आपत विपद् पर्दा उहाँ आफ्नो पेशा नै छोडेर मैदानमा देखिनुहुन्छ । उहाँकै पहलमा भुकम्पबाट घरबार र आफन्त गुमाएकाहरुलाई द आर्ट अफ लिभिङ संस्थाको सहकार्यमा, तिल्पुङमा सहयोग उपलब्ध गराइएको थियो भने मारवाडी सेवा समाज नामक संस्थासँग पहल गरेर गोरखा र सिन्धुपाल्चोकका पीडितहरुलाई पनि राहत वितरण गरिएको थियो ।
यस्तै, खिम्ती पहिरोमा परेकाहरुको उद्धार र राहत तथा कोरोना महामारीको बेला समेत उहाँले आफ्नै पहलमा रामेछाप, सोलुखुम्बु र ओखलढुंगासम्म राजधानी काठमाडौंबाट गाउँ फर्कनेहरुलाई सवारीसाधनको व्यवस्था गरेर होम क्वारेन्टाइनसम्म लैजाने व्यवस्था गरिदिनु भएको थियो । उहाँले आफ्नै गाउँमा रहेको तिल्पुङ भगवती मन्दिरको लागि समेत पचाँस हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग प्रदान गर्नु भएको थियो । उहाँले विद्यार्थी, युवा र वृद्धवृद्धाहरुको सहयोगका लागि यस्तै अनगिन्ती कामहरु गर्नु भएको छ, जसले सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव छोडेको देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्