थारु समुदायमा नयाँ वर्षको उत्साह, गाउँको नयाँ नेतृत्व चयन

थारु समुदायमा नयाँ वर्षको उत्साह, गाउँको नयाँ नेतृत्व चयन

धनगढी । सुदूरपश्चिमको तराई क्षेत्र, विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायको घर–आँगनमा माघी पर्वको रौनक छाएको छ । थारु समुदायले माघीलाई एक पर्वका रूपमा मात्र नभई आफ्नो नयाँ वर्षका रूपमा पनि धूमधामसँग मनाउँदै आएका छन् ।

पुसको कठ्याङ्ग्रिदो जाडोलाई बेवास्ता गर्दै गाउँबस्तीमा माघीको उल्लास देखिन्छ । पुस लागेपछि सुरु हुने तयारी माघे संक्रान्ति नजिकिँदै जाँदा झनै तीव्र हुन्छ । घर–आँगन सरसफाइ, लिपपोत, दुना–टपरी बनाउने, कुटानी–पिसानी जस्ता काममा थारु महिलाहरू व्यस्त देखिन्छन् । स्थानीयवासीका अनुसार पुसको अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघी विशेष रूपमा मनाइन्छ । यस अवधिमा ढिकरी, रोटी, जाँड, तरकारी र मासुका परिकारको तयारी गरिन्छ । माघीको खानपिनमा बङ्गुरको मासुलाई विशेष स्थान दिइन्छ । साथै आलु, मुला, सिन्की लगायतका स्थानीय परिकार अनिवार्यजस्तै हुन्छन् ।

पुस मसान्तको दिनलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । यस दिन घर–घरमा सुँगुर काट्ने र राति परिवार तथा छरछिमेकसँग बसेर परिकार खाने चलन छ । माघ १ गते बिहानै नदी, तलाउ वा जलाशयमा स्नान गरी शुद्धता र पुण्य आर्जन गर्ने विश्वास रहिआएको छ । स्नानपछि आफूभन्दा ठूला सदस्यबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलनलाई ‘सेवा सलाम’ भनिन्छ । माघी नयाँ वर्ष पनि भएकाले चेलीबेटीलाई विशेष सम्मान गर्ने परम्परा छ । विवाह गरेर गएका छोरी–चेलीलाई माइती बोलाइने, मीठा परिकार खुवाइने र उपहार दिने चलनले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।

माघी पर्वको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक तथा सामुदायिक प्रशासनसँग जोडिएको छ । यो समय थारु समुदायको नयाँ आर्थिक वर्षको सुरुआत पनि मानिन्छ । माघको पहिलो हप्ताभित्र गाउँस्तरमा ‘खोज्नी बोझ्नी’ भेला आयोजना गरी आगामी वर्षका लागि गाउँको नेतृत्व चयन गरिन्छ । यस क्रममा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’, सुरक्षा हेर्ने चौकीदार तथा सन्देशवाहकको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरू चयन हुने परम्परा छ ।

यसै समयमा दाजुभाइबीच अंशबन्डा गर्ने, घर छुट्याउने जस्ता विषय पनि टुंग्याउने चलन रहिआएको छ । साथै कुलो–पानी मर्मत, बाटोघाटो सुधार, पूजा–आजा तथा विकास निर्माणका कामबारे वार्षिक योजना बनाइन्छ । समुदायको आम्दानी–खर्चको हिसाब सार्वजनिक गर्ने र देखिएका समस्याको समाधान खोज्ने कार्य पनि यही अवसरमा गरिन्छ ।

पर्व सुरु भएसँगै गाउँमा नाचगानको रौनक बढ्छ । माघीको अवसरमा ‘मघौटा’ नाच प्रस्तुत गरिन्छ । परम्परागत पोसाकमा सजिएका युवायुवतीहरू मादलको तालमा नाच्दै घर–घर पुगेर शुभकामना आदानप्रदान गर्छन् । यसले गाउँको वातावरणलाई जीवन्त बनाउँछ ।

यद्यपि, समयसँगै मौलिक संस्कृति संरक्षणको चुनौती पनि देखिएको छ । पाका पुस्ताले युवा पुस्ता आधुनिकतामा बढी आकर्षित हुँदा परम्परागत नाचगान र गीत ओझेलमा पर्न थालेको चिन्ता व्यक्त गरेका छन् । संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई चाडपर्वको महत्व र मौलिक परम्पराबारे सिकाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।

माघी पर्वको महत्वलाई मध्यनजर गर्दै माघ १ गते राष्ट्रिय रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ । त्यसका साथै कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले पनि माघीको अवसरमा थप बिदा दिने गरेका छन् । यसले समुदायलाई आफ्ना परम्परा सहज रूपमा मनाउने वातावरण बनेको छ । माघीको अवसरमा विभिन्न स्थानमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुँदै आएका छन् । यस्ता कार्यक्रमले थारु समुदायभित्र मात्र होइन, अन्य समुदायसँग पनि आपसी सद्भाव र भाइचारा बढाउन सहयोग पुर्‍याएको विश्वास गरिन्छ ।

सुदूरपश्चिमको तराई क्षेत्रमा माघी मनाइँदै गर्दा पहाडी क्षेत्रका बासिन्दाले भने माघी संक्रान्ति पर्व मनाउने गर्छन् । पुसको अन्तिम रात धार्मिकस्थलमा जाग्राम बस्ने, भजन–कीर्तन गर्ने र माघ १ गते नदीमा स्नान गर्ने परम्परा रहिआएको छ । यस अवसरमा विभिन्न धार्मिकस्थलमा मेला लाग्ने गर्छ, जहाँ श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्