सुस्वास्थ अस्पतालले मनायो १० औं वार्षिकोत्सव, नयाँ उचाइ हासिल गर्दै

सुस्वास्थ अस्पतालले मनायो १० औं वार्षिकोत्सव, नयाँ उचाइ हासिल गर्दै

काठमाडौं — प्राकृतिक चिकित्सामा नाम कमाउँदै आएको काठमाडौंको मिनभवनमा अवस्थित सुस्वास्थ अस्पतालले आफ्नो १० औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व र स्वास्थ्य सेवामा समर्पित यात्राको १० वर्ष पूरा गर्दै अस्पतालले बिरामी एवं आम नागरिकका लागि स्वास्थ्य सेवाको गुणस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुस्वास्थ अस्पतालले विक्रम संवत २०७२ साल माघ १ गते बाट वैकल्पिक उपचार तथा प्राकृतिक चिकित्सा सेवाको रूपमा सेवा सुरु गरेको होयस १० वर्षको यात्रामा १८ हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको भन्ने जानकारी अस्पतालले सार्वजनिक गरेको छ। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत झण्डै ८ हजार बिरामीलाई निशुल्क उपचार सेवा दिइएको अध्यक्ष सुदर्शन बस्नेतले बताए।

कार्यक्रममा अध्यक्ष बस्नेतले भने, “हामीले प्राकृतिक चिकित्सा, अकुपञ्चर र फिजियोथेरापीलाई एकीकृत पद्धतिमा प्रयोग गर्दै बिरामीलाई मात्र नभई स्वस्थ जीवनतर्फ उन्मुख गराउने लक्ष्यमा अग्रसर छौँ।” उनले अहिलेसम्म अस्पतालले सामाजिक सेवा र स्वास्थ्य शिविरमार्फत दिगो स्वास्थ्य सेवा प्रवाहमा विशेष योगदान पु¥याएको पनि बताए।

सुस्वास्थ अस्पतालले औषधिविहीन उपचार पद्धति अपनाउँदै बिरामीलाई निको पार्ने तथा स्वास्थ्य प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नसा च्यापिएका, हाडजोर्नी समस्या, माइग्रेन, प्यारालाइसिस, कम्मर तथा गर्दन दुखाइ लगायतका समस्या भएका बिरामीहरूलाई अस्पतालले गुणस्तरीय उपचार उपलब्ध गराउँदै आएको छ।

अस्पतालले स्थापना कालदेखि विभिन्न चुनौतीपूर्ण समय, जस्तै महाभूकम्प, नाकाबन्दी र कोभिड-१९ महामारीजस्ता कठिन परिस्थितिहरू समेत पार गर्दै सेवा विस्तारमा निरन्तरता दिएको बताया छ। अध्यक्ष बस्नेतले बिरामीको विश्वास, स्वास्थ्यकर्मीको समर्पण र व्यवस्थित टोलीलाई संस्थाको प्रमुख शक्ति भनेका छन्।

यसैबीच अस्पतालले ताइवानका केही विश्वविद्यालयसँग सहकार्य गर्दै विदेशी इंटर्नशिप तथा विशेष तालिम कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ जसले अस्पतालका विशेषज्ञहरूलाई थप सक्षम बनाएको छ। अस्पतालमा हाल ३४ जना दक्ष स्वास्थ्यकर्मी कार्यरत छन् र आगामी दिनहरूमा सेवाको पहुँच अझ व्यापक बनाउन विभिन्न कार्यक्रम तथा शाखा विस्तार गर्ने योजना अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्