कोरोना रहित बन्यो डोल्पाको मुड्केचुला गाउँपालिका

कोरोना रहित बन्यो डोल्पाको मुड्केचुला गाउँपालिका

डोल्पा । नेपालका तीनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु मरिक यादवलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले गाउँपालिकामा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो र उहाँ उपचार पश्चात ठीक भएर घर फर्किसकेको बताउनुभयो । संक्रमित व्यक्ति काठमाडौँबाट आएको नागरिक रहेको उहाँले बताउनुभयो ।

शम्भु मरिक यादव

हालसम्म ३०० जनाको पि.सि.आर परीक्षण भइसकेको यादवले बताउनुभयो । गाउँपालिकामा सुरुमा ३ वटा क्वारेन्टाइनको व्यवस्था गरिएको थियो भने हाल एउटा मात्र क्वारेन्टाइनको व्यवस्था गरिएको छ । हाल क्वारेन्टाइनमा बस्नेको संख्या ३ जना रहेको यादवले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाले नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

 

गाउँपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यसबाट बच्नलाई सचेत गराइरहेको छ र सोहिकारण गाउँपालिका अहिले सम्मको अवस्थामा कोरोना रहित रहेको यादवले जानकारी गराउनुभयो । साथसाथै गाउँपालिकाले २ वटा नाकानै सिल गरेको छ भने कोही व्यक्ति बाहिरबाट आएको छ भने सोव्यक्तिको पि.सि.आर परीक्षण गरिसकेपछि मात्र गाउँपालिकामा प्रवेश दिने गरेको संयोजक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्