‘रातो टीका निधारमा’ मा साम्राज्ञी गाउँले भूमिका देखीदै

‘रातो टीका निधारमा’ मा साम्राज्ञी गाउँले भूमिका देखीदै

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी साम्राज्ञी आरएल शाह अहिलेकी मोस्ट डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एक हुन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कायरा’ मा अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्न १० लाख बुझेकी उनले हालै छायांकन सकिएको फिल्म ‘मारुनी’ मा १५ लाख पारिश्रमिक पाइन् । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् ।  अभिनेतासरह पारिश्रमिक बुझ्ने उनले दशैंमा प्रदर्शनमा आउन लागेको निर्देशक अशोक शर्माको फिल्म ‘रातो टीका निधारमा’ मा १६ लाख बुझेकी छन् । ‘कायरा’ बक्सअफिसमा असफल भए पनि पारिश्रमिक नघटाएकी उनले यसअघि अशोकको फिल्म ‘जय भोले’ समय व्यस्तताका कारण गर्न पाएकी थिइन् । फिल्मवृतमा भने उनले गाउँले भूमिका भएका कारण रिजेक्ट गरेको चर्चा चलेको थियो ।  तर, यसको निर्देशक शर्मा र अभिनेत्री शाह दुबैले खण्डन गरेका थिए । साम्राज्ञीले ‘जय भोले’ मा काम गर्न नसक्नुको पछाडि गाउँले भूमिका नभएर समय व्यस्तता रहेको बताएकी थिइन् । आफू गाउँले भूमिकामा काम गर्न पनि तयार रहेको उनको भनाई थियो । अन्ततः ‘रातो टीका निधारमा’ मा साम्राज्ञी र अशोकको टिमअप भएको छ । यस फिल्ममा साम्राज्ञी गाउँले भूमिकामा प्रस्तुत हुँदैछिन् । 

यो फिल्ममा उनले निर्देशक शर्माका छोरा अंकितसँग रोमान्स गर्दैछिन् । आइतवार फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा अभिनेत्री साम्राज्ञीले आफूलाई फिल्मको स्क्रिप्ट औधि मन परेका कारण काम गर्न राजी भएको बताइन् । उनी भन्छिन्, ‘मैले पहिलो पटक स्ट्रोङ रोल पाएकी छु । नेपालमा महिलाप्रधान फिल्महरु खासै बनेका छैनन् । यो पूर्ण महिलाप्रधान फिल्म हो ।’ आफू सधैं बोल्ड क्यारेक्टर मात्र गरेर बोरिङ भइसकेको पनि उनी बताउँछिन् । ‘म अरु क्यारेक्टर पनि गर्न सक्छु भन्ने सधैं लागिरहन्थ्यो । हरेक कलाकारलाई सधैं भिन्न-भिन्न रोल गर्न मन हुन्छ, त्यो मलाई पनि थियो/छ । ‘रातो टीका निधारमा’ बाट अशोक दाईले मलाई प्ल्याटफर्म दिनुभएको छ । मैले गर्न खोजेको क्यारेक्टर यसमा पाएकी छुँ’, उनी खुसी देखिइन् । उनले अहिले आफूलाई राम्रो स्क्रिप्ट आइरहेको पनि बताइन् ।  उनी अगाडि भन्छिन्, ‘मलाई पहिला सधैं एउटैखाले क्यारेक्टर गर्यौं भन्ने प्रतिक्रियाहरु आउने गर्दथे । मलाई पनि भिन्न रोल गर्न मन थियो । तर, सधैं एउटैखाले मात्र स्क्रिप्ट आउने गर्थ्यो । नभए त्योभन्दा खत्तम आउथ्यो । मलाई फिल्म छनोट गर्नै गाह्रो हुन्थ्यो । यसपाली भने राम्रो-राम्रो स्क्रिप्टहरु आइरहेको छ । ‘रातो टीका निधारमा’ को स्क्रिप्ट सुनेपछि मलाई बेग्लै लाग्यो । किनकि, मैले आजसम्म त्यस्तो क्यारेक्टर गरेकै छैन ।’  यस फिल्ममा पहिलो पटक आफू गाउँले भूमिकामा देखिन लागेको पनि उनी आफैंले स्पष्ट पारिन् । साम्राज्ञी भन्छिन्, ‘गाउँले भूमिका भए पनि फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ ।’ निर्देशक शर्मा पनि स्क्रिप्ट सुनेलगत्तै साम्राज्ञीले कुनै हिचकिचाहट फिल्म साइन गरेको बताए । उनले भने- ‘‘जय भोले’ मा पनि मैले साम्राज्ञीलाई नै लिन खोजेको थिएँ । तर, विभिन्न कारणले सहकार्य हुन सकेको थिएनँ । सञ्चारमाध्यममा भने अर्कै कुरा आयो, जुन पूर्ण रुपमा असत्य छ ।’’ 

प्रतिक्रिया दिनुहोस्