माता गृहणी र पिता कृषिकर्ममा भए पनि आफ्ना सन्तानहरूलाई अध्ययनमा लगाउनु पर्दछ तथा दुखकष्टहरु बीचमा पनि परोपकारी कामलाई निरन्तरता दिन सक्नुपर्दछ भन्ने प्रष्ट चेतनाका धनी स्व.विष्णुप्रसाद पौडेल र स्व.विष्णुकुमारी पौडेलप्रति समर्पित “सम्झनामा बाआमा” स्मृतिग्रन्थ सार्वजनिक भएको छ । स्व. विष्णुकुमारी पौडेलले २०७९ पौष २ गते ८४ वर्षमा र स्व. विष्णुप्रसाद पौडेलले २०८० साल कार्तिक ९ गते ८५ वर्षको उमेरमा भौतिक संसारबाट बिदा लिनु भएको थियो ।
मण्डनदेउपुर नगरपालिका वडा नं. ८, धाईटार काभ्रेपलाञ्चोक निवासी दीपकप्रसाद पौडेलद्धारा तयार पारिएको सो ग्रन्थ प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर गत असोज २९ गते धाईटारमा लोकार्पण गरिएको थियो । उक्त अवसरमा राजनीतिक दल, स्थानीय सरकारका जनप्रतिनिधि, र धाइटारवासी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

उक्त कृतिमा पितृहरुको स्मरण, स्व. पौडेल दम्पतीको जीवनयात्राका महत्वपूर्ण क्षणहरू, वंशज, आफन्त, विविध, रीति रिवाज, मृत्यु संस्कार, तथा अन्त्येष्टी र श्रद्धाञ्जलीमा उपस्थित महानुभावहरूको अभिलेख सटीक तवरले प्रस्तुत गरिएको छ । स्व. पौडेल दम्पती आठ वर्षमै विवाह बन्धनमा बाधिएपछिका क्षण र समकालीन अवस्थालाई ग्रन्थले सिलसिलेबार ढङ्गले जोडेको छ । आजको तुलनामा त्यसबेलाको दैनिकीमा धेरै दुखकष्ट भएपनि सन्तुष्टिका मात्रा धेरै हुन्थ्यो र स्व. पौडेल दम्पती सामाजिक भावना र परोपकारी चेतनाले सम्पन्न हुनुहुन्थ्यो भन्ने विषय ग्रन्थ पल्टाउँदै जादा भेटिन्छ ।

उक्त स्मृतिग्रन्थ तस्विर संगालोसमेत गरेर १७ भागमा विभाजन गरिएको छ । सहकारी, सामाजिक सेवा, र वंशोद्धारको क्षेत्रमा लामो समयदेखि सक्रिय दीपकप्रसाद पौडेल बाआमा तथा सम्पूर्ण पितृहरूको योगदान विना जीवनको कल्पना गर्न नसकिने भएकाले र उहाँहरूको बारेमा आउने पुस्तालाई समेत जानकारी दिने अभिप्रायले ग्रन्थ तयार पारिएको धारणा राख्नु हुन्छ । पुस्तक प्रकाशन भएपछि सबैले प्रशंसा गरेको भन्दै आफूलाई सन्तुष्टि मिलेको उहाँको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्