काठमाडौं, २२ असार। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले करिब १६ करोड ५० लाख अमेरिकी डलर (झण्डै २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता गरेको छ। उक्त ऋण खानेपानी तथा ढल व्यवस्थापन र आपूर्ति व्यवस्थापन सुधारसम्बन्धी दुई महत्वपूर्ण आयोजनामा परिचालन गरिने भएको छ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दाको उपस्थितिमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सब–प्रोग्राम–२) का लागि उक्त सहुलीयतपूर्ण ऋण परिचालन गरिनेछ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि ५ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत भएको हो।
सरकारका अनुसार पहिलो आयोजनामार्फत स्थानीय तहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन पूर्वाधारको विस्तार, सेवा गुणस्तर सुधार तथा सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि गरिनेछ। यस आयोजनाबाट देशका १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।
त्यस्तै, दोस्रो आयोजनाअन्तर्गत नेपालको भन्सार प्रशासनलाई प्रविधिमैत्री र आधुनिक बनाउने, जोखिममा आधारित जाँच प्रणाली लागू गर्ने, भन्सार प्रक्रिया सरलीकरण गर्ने तथा लजिस्टिक सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। यसबाट सीमापार व्यापार सहज बनाउने, व्यापार लागत घटाउने, आपूर्ति शृङ्खलाको दक्षता बढाउने तथा क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको सहभागिता सुदृढ हुने अपेक्षा गरिएको छ।
सम्झौता समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
एडीबीका अध्यक्ष मासातो कान्दाले नेपालसँग रहेको करिब छ दशक लामो विकास साझेदारी आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गर्दै नेपालको विकास प्राथमिकता, पूर्वाधार निर्माण तथा आर्थिक सुधारका क्षेत्रमा एडीबीले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। उनले नेपालको आर्थिक तथा विकाससम्बन्धी चुनौती सामना गर्न एडीबी सधैं सहकार्यका लागि तयार रहेको पनि बताए।
कार्यक्रममा नेपाल सरकार, अर्थ मन्त्रालय तथा एसियाली विकास बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्