कास्की । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा पदयात्री उत्साहित बनेका छन्। अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म विद्युत् सेवा विस्तार भएसँगै यस क्षेत्रको पर्यटन पूर्वाधार थप मजबुत बनेको हो।
नेपाल विद्युत् प्राधिकरणले प्रमुख पर्यटकीय पदमार्गहरूमा विद्युतीकरण गर्ने योजनाअनुसार उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरेको जनाएको छ। यसअघि वैकल्पिक ऊर्जामा निर्भर स्थानीय तथा होटल व्यवसायीले अब नियमित र भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।
राष्ट्रिय प्रसारण लाइन पुगेपछि मोबाइल चार्जिङ, इन्टरनेट, तातोपानीलगायत सेवामा सहजता आउने विश्वास गरिएको छ। स्थानीय व्यवसायीका अनुसार यसले पर्यटकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्नेछ।
यसैबीच, अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चार लाख ४१ हजारभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्। सरोकारवालाहरूले विद्युत् विस्तारले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्