यसपटक पनि तामाकोशीले छोडेन किर्नेटारलाई , पुष्पलाल राजमार्ग अवरुद्ध

यसपटक पनि तामाकोशीले छोडेन किर्नेटारलाई , पुष्पलाल राजमार्ग अवरुद्ध

७ साउन, किर्नेटार, दोलखा । तामाकोशी नदीमा आएको बाढीले दोलखाको किर्नेटारमा सडक कटान गरेपछि पुष्पलाल राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड बाढीले बगाएपछि तराई क्षेत्रलाई दोलखासँग जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो।

सडक अवरुद्ध भएपछि दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने सवारीसाधन चल्न सकेका छैनन्। त्यस्तै, सिन्धुली र रामेछाप हुँदै दोलखा आउने सवारीसाधनको आवागमनसमेत ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशी नदीमा आएको बाढीले सडक भत्काएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।

‘राजमार्ग खुलाउने विषयमा पालिका, सडक विभाग, खिम्ती जलविद्युत् आयोजनाका प्रतिनिधि, वडाध्यक्ष र प्रहरी प्रतिनिधिबीच छलफल भइरहेको छ,’ डीएसपी लामाले भने, ‘वैकल्पिक सडक सञ्चालनमा ल्याएर यातायात सुचारु गर्ने प्रयास भइरहेको छ।’

यसअघि पनि तामाकोशी नदीको बाढी तथा कटानका कारण किर्नेटार क्षेत्रमा सडक प्रभावित हुँदै आएको थियो। पछिल्लो बाढीले पुनः सडक बगाएपछि यस क्षेत्रमा यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्