खोटाङ । कृषि बालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४५ लाख बजेट विनियोजन गरेको छ।
नगरपालिकाको १५औँ नगरसभाबाट पारित बजेट तथा कार्यक्रममा प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ परिचालन गर्ने व्यवस्था गरिएको छ। किसानले लामो समयदेखि भोग्दै आएको बाँदरको समस्यालाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ विनियोजन गरिएको छ। सोही बजेटअन्तर्गत वन्यजन्तुबाट हुने बाली नोक्सानी घटाउन विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तयार पारिएको छ। यसका लागि सङ्घीय सरकार र छिमेकी स्थानीय तहहरूसँग समेत समन्वय गरिनेछ।
नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रममार्फत किसानको घरदैलोमै प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ।
यसैबीच, खोटाङका विभिन्न स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। केही पालिकाले बजेट प्रस्तुत गरिसकेका छन् भने अन्य पालिकाहरूले पनि असार १० गते आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्