काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोलामा सरसफाइ अभियान सञ्चालन गरिरहेको छ।
अभियानमा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता, काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्य तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता देखिएको छ। पार्टीले अघि सारेको श्रम संस्कृति र सामूहिक जिम्मेवारीको अवधारणाअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको जनाइएको छ।
पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ। काठमाडौँ क्षेत्र नम्बर ४ मा विगत केही समयदेखि स्थानीयस्तरमै सुरु गरिएको सरसफाइ अभियानलाई संस्थागत रूपमा निरन्तरता दिँदै हरेक शनिबार धोबीखोलालगायत आसपासका क्षेत्रमा नियमित सरसफाइ हुँदै आएको छ। यो अभियान कुनै राजनीतिक उद्देश्यभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व र सार्वजनिक हितका लागि सञ्चालन गरिएको बताइएको छ। स्वच्छ वातावरण, सफा खोला र जिम्मेवार नागरिक संस्कृतिको विकास गर्ने लक्ष्यसहित अभियानलाई दीर्घकालीन रूपमा अघि बढाइने तयारी गरिएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा काठमाडौँको श्रमदान अभियानमा सहभागी गराउने प्रयास भइरहेको छ। यसैबीच, आगामी निर्वाचनलाई लक्षित गर्दै हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीमार्फत राष्ट्रिय राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन्।
धरानबाट सुरु भएको श्रमदान अभियानले काठमाडौँसम्म विस्तार पाउनु श्रम, अनुशासन र सामूहिक प्रयासमार्फत समाज परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको प्रतिक्रिया छ।


प्रतिक्रिया दिनुहोस्