काठमाडौँ
जाडो मौसम बढेसँगै शरीरलाई भित्रैदेखि न्यानो र स्वस्थ राख्नु सबैका लागि चुनौतीपूर्ण बन्दै गएको छ। चिसोका कारण रुघाखोकी, जोर्नी दुखाइ, पाचन समस्या र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने जस्ता समस्या देखिने भएकाले यस मौसममा खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
विशेषज्ञहरूका अनुसार बिहान वा राति सुत्नुअघि तातो दूधमा केही प्राकृतिक औषधीय गुण भएका पदार्थ मिसाएर सेवन गर्नाले शरीरलाई न्यानो राख्नुका साथै चिसोबाट हुने सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ। हालै प्रकाशित विभिन्न स्वास्थ्य अध्ययनले पनि दूधसँग प्राकृतिक जडीबुटी र मसला मिसाएर पिउँदा प्रतिरक्षा प्रणाली मजबुत हुने पुष्टि गरेका छन्।
जाडो मौसममा दूध र बेसारको मिश्रण निकै प्रभावकारी मानिन्छ। बेसारमा पाइने एन्टि–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणले रुघाखोकी कम गर्नुका साथै शरीरमा प्राकृतिक गर्माहट ल्याउन सहयोग गर्छ। यसले संक्रमणविरुद्ध लड्ने क्षमता बढाउने विश्वास गरिएको छ।
त्यसैगरी, दूधमा थोरै दालचिनीको धुलो मिसाएर पिउँदा रक्तसञ्चार प्रणाली सक्रिय भई मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। दालचिनीले चिसोको असर कम गर्न र शरीरलाई तातो राख्न सहयोग पुर्याउने चिकित्सकहरूको भनाइ छ।
शारीरिक कमजोरी, थकान र मानसिक तनाव कम गर्न अश्वगन्धा मिसाइएको दूध उपयोगी मानिन्छ। यसले शरीरलाई आन्तरिक रूपमा मजबुत बनाउनुका साथै तनाव घटाउने र कपाल तथा स्नायु प्रणालीलाई बलियो बनाउने काम गर्छ।
ऊर्जा बढाउन र छालाको चमक कायम राख्न केसर मिसाइएको दूध लाभदायक हुन्छ। केसरमा पाइने आइरन, पोटासियम र म्यांगनीजले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ। पाचन प्रणालीलाई स्वस्थ राख्न र चिसोका कारण हुने घाँटीको खसखस कम गर्न अलैँची मिसाइएको दूध उपयुक्त मानिन्छ। त्यसैगरी, जोर्नी दुखाइ, ग्यास्ट्रिक र चिसोबाट हुने पेटसम्बन्धी समस्या कम गर्न सुठो (सुकेको अदुवा) मिसाइएको दूध प्रभावकारी हुन्छ। सुठोले शरीरमा प्राकृतिक रूपमा गर्माहट पैदा गर्ने गुण राख्छ।
यदि राति राम्रोसँग निद्रा नलाग्ने समस्या छ भने दूधमा मह मिसाएर पिउनाले निद्रा सुधार हुनुका साथै पाचन प्रक्रियामा समेत सकारात्मक असर पर्ने बताइन्छ। स्वास्थ्यविद्हरूका अनुसार जाडो मौसममा सन्तुलित आहार, नियमित व्यायाम र यस्ता प्राकृतिक उपाय अपनाउन सके शरीरलाई स्वस्थ, न्यानो र रोगमुक्त राख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्