माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्रामा, आज बिहान पशुपतिमा विशेष पूजा

माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्रामा, आज बिहान पशुपतिमा विशेष पूजा

काठमाडौँ । एक महिने माधवनारायण स्वस्थानी व्रतको परम्पराअनुसार व्रतालुहरूले परदेश यात्राको क्रममा आज बिहान पशुपतिनाथ क्षेत्रमा विशेष पूजा सम्पन्न गरेका छन्। बागमती नदीमा विधिपूर्वक स्नान गरी नित्य पूजापाठ तथा मन्त्रोच्चारण गरिएको हो।

पौराणिक सहर साँखुबाट सुरु भएको माधवनारायण स्वस्थानी व्रत अन्तर्गत व्रतालुहरू मंगलबार साँझ पशुपतिनाथ क्षेत्रमा आइपुगेका थिए। व्रत अवधिभर अनुष्ठानकर्ताहरूले उपत्यकाका विभिन्न नदी, तीर्थस्थल तथा धार्मिक स्थलहरूमा स्नान, पूजापाठ र दर्शन गर्ने परम्परा रहिआएको छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने धार्मिक मान्यता छ। व्रत बस्ने व्रतालुहरूले पूर्णिमाको अघिल्लो दिन हात–खुट्टाका नङ काटी, एकचित्त भई निराहार व्रत बस्ने, पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको छ। त्यसपछि शङ्खजल ग्रहण गर्दै मन्त्रोच्चारण गर्ने परम्परा पालना गरिन्छ।

मन्त्रोच्चारण र शङ्खजल ग्रहण गरेपछि कसैलाई नछुने तथा जुत्ता नलगाउने धार्मिक नियम पालना गरिन्छ। माधवनारायणको पूजा नगरेमा स्वस्थानी व्रत अधुरो मानिने विश्वास छ। स्वस्थानी र माधवनारायणको संयुक्त पूजाबाट सुख, शान्ति, आरोग्यता तथा समृद्धि प्राप्त हुने धार्मिक आस्था रहिआएको छ।

एक महिने व्रत अवधिमा व्रतालुहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत विभिन्न तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शन र पूजापाठमा सहभागी हुने गर्दछन्। यस व्रतले धार्मिक आस्था, अनुशासन र आत्मशुद्धिको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्