काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवार चयनलाई लिएर बहस चर्किए पनि स्थानीय तह र काठमाडौँ जिल्लाको स्पष्ट जोड समाजसेवी शोभित उप्रेतीमै देखिएको छ।
लामो समयदेखि काठमाडौँ–१ मा बसोबास गर्दै आएका उप्रेती राप्रपाका केन्द्रीय सह–कोषाध्यक्ष हुन्। क्षेत्रीय समितिले पुस १ गते प्रत्यक्षतर्फ वरिष्ठ नेता पशुपति शमशेर राणा, शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरेको थियो। राणाले उम्मेदवार नहुने घोषणा गरेपछि उप्रेती स्वतः बलियो दाबेदारका रूपमा अगाडि आएका छन्।
यसैबीच पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि उम्मेदवारी दाबी गरेपछि विवाद सार्वजनिक भएको थियो। तर काठमाडौँ–१ क्षेत्रीय समितिले मिश्रको नाम सिफारिस नभएको औपचारिक रूपमा खण्डन गरिसकेको छ।
शनिबार सम्पन्न काठमाडौँ–१ का राजनीतिज्ञ, समाजसेवी, कलाकार, साहित्यकार र पत्रकारहरूको भेलाले अन्य इच्छुक उम्मेदवार हुँदाहुँदै पनि स्थानीय र रैथाने उम्मेदवार शोभित उप्रेतीलाई सर्वसम्मत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ।
भेलामा करिब ३०० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले बाहिरबाट आएका वा पटक–पटक पराजित भइसकेका उम्मेदवारभन्दा स्थानीय जनभावना बुझ्ने उम्मेदवार आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
बानेश्वर एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा सम्पन्न भेलामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, विनोद दवाडी, रीना वली शाही, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठलगायतको उपस्थिति थियो।
स्थानीय दबाब बढेसँगै काठमाडौँ–१ मा राप्रपाभित्र स्थानीय उम्मेदवार बनाम केन्द्रको दाबी बहस निर्णायक मोडमा पुगेको छ। पार्टी नेतृत्वको निर्णयलाई काठमाडौँ–१ का मतदाताले नजिकबाट हेरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्