युवावस्थामै किन बढ्दैछ ब्रेन स्ट्रोकको जोखिम?

युवावस्थामै किन बढ्दैछ ब्रेन स्ट्रोकको जोखिम?

पहिले प्रायः वृद्धावस्थासँग जोडिने ब्रेन स्ट्रोकको समस्या पछिल्ला वर्षहरूमा युवावस्थामै देखिन थालेको छ। ३०, ३५ र ४० वर्ष उमेर समूहका व्यक्तिमा समेत ब्रेन स्ट्रोकका घटना बढ्दै जानुले जीवनशैलीप्रति गम्भीर प्रश्न खडा गरेको छ। चिकित्सकीय अभ्यासमा देखिँदा युवावस्थामा ब्रेन स्ट्रोक हुने मुख्य कारणका रूपमा धूमपान, मदिरा सेवन, भेपिङ र अस्वस्थ्यकर खानपान प्रमुख रूपमा देखिएका छन्।

यस्ता युवाको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा मुटु र अन्य अंग सामान्य देखिए पनि विस्तृत जीवनशैली बुझ्दा दैनिक एक प्याकेटसम्म चुरोट खाने, हरेक दिन मदिरा सेवन गर्ने, बाहिरको चिल्लो खाना बढी खाने बानी देखिन्छ। कतिपयमा हुक्का प्रयोगको लत पनि पाइन्छ। हुक्का पनि धूमपानकै एक रूप हो र यसले रगतका नशामा गम्भीर असर पार्न सक्छ। ब्रेन स्ट्रोक भएका बिरामीमा रगतका नशा खुम्चिने र कडा हुँदै जाने समस्या देखिन्छ। अनुसन्धानहरूमा धूमपान र निकोटिनको प्रयोगले नशा क्रमशः साँघुरिँदै जाने, रगतको प्रवाह घट्ने र मस्तिष्कमा अक्सिजनको मात्रा कम हुने देखिएको छ। यसले मस्तिष्क मात्र होइन, घाँटी, मुटु र शरीरका अन्य अंगका नशामा समेत दीर्घकालीन असर पार्छ।

हालै युवामाझ बढ्दो भेपिङ पनि सुरक्षित विकल्प होइन। भेपिङ गर्दा मस्तिष्कमा आवश्यक अक्सिजनको आपूर्ति घट्ने र प्रयोग छाडेको ७२ घन्टापछि मात्र अक्सिजनको मात्रा सामान्य अवस्थामा फर्किन थाल्ने तथ्यहरू देखिएका छन्। भेपिङ फोक्सो र मुटु दुवैका लागि हानिकारक मानिन्छ। निकोटिनयुक्त कुनै पनि पदार्थ शरीरका लागि लाभदायक हुँदैन, त्यसैले यसको प्रयोग शून्यमा झार्नु नै सुरक्षित उपाय हो।

स्वास्थ्य तथ्यांकहरूका अनुसार विश्वभर युवामाझ ब्रेन स्ट्रोकको जोखिम पछिल्ला एक दशकमा उल्लेखनीय रूपमा बढेको छ। अस्वस्थ जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक गतिविधिको कमी यसका मुख्य कारक मानिन्छन्।युवावस्थामा ब्रेन स्ट्रोक हुँदा यसको सामाजिक र पारिवारिक असर गहिरो हुन्छ। कमाउने उमेरमै शारीरिक अपांगता वा दीर्घ उपचारको अवस्था आउँदा परिवारको दैनिकी नै प्रभावित हुन्छ। समयमै उपचार नपाउँदा समस्या अझ जटिल बन्न सक्छ।

उपचारको दृष्टिले समय अत्यन्तै महत्त्वपूर्ण हुन्छ। ब्रेन स्ट्रोक भएको २४ घन्टाभित्र अस्पताल पुगेमा मस्तिष्कको क्षति न्यून गर्न सकिने सम्भावना धेरै हुन्छ। एउटा उदाहरणमा, ३० वर्ष उमेरका एक व्यक्तिमा बाल्यकालमा घाँटीको संक्रमणको उचित उपचार नहुँदा मुटुमा संक्रमण फैलिएको थियो। त्यसकै प्रभावले ब्रेन स्ट्रोक भएको थियो। समयमै अस्पताल पुगेकाले मस्तिष्कलाई धेरै हदसम्म सामान्य अवस्थामा फर्काउन सम्भव भयो। यसले सानो संक्रमणलाई पनि बेवास्ता नगर्नुपर्ने सन्देश दिन्छ।

युवावस्थामा ब्रेन स्ट्रोक हुने प्रमुख कारणहरूमा धूमपान पहिलो स्थानमा पर्छ। सानै उमेरदेखि चुरोट सुरु गर्ने र दिनमा धेरै चुरोट खाने बानी अत्यन्त जोखिमपूर्ण हुन्छ। दोस्रो कारण मुटु सम्बन्धी समस्या हो। उच्च रक्तचाप, वंशानुगत मुटु रोग वा परिवारमा कम उमेरमै हृदयाघात भएको इतिहासले जोखिम बढाउँछ। तेस्रो कारण असन्तुलित खानपान हो।

चिनी र प्रशोधित कार्बोहाइड्रेट बढी खाने तर प्रोटिन र फाइबर कम खाने बानीले शरीर समयभन्दा छिटो कमजोर बनाउँछ। धेरै चिनी सेवन गर्दा रगतका नशा सुक्ने, मोटोपन बढ्ने, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या देखा पर्छन्, जसले ब्रेन स्ट्रोकको जोखिम बढाउँछ।

दैनिक खानपानमा सुधार अत्यावश्यक छ। बिहान चिनी नराखिएको कालो चिया वा कफी सीमित मात्रामा लिन सकिन्छ। दूध चिया भने खानापछि एक पटकसम्म उपयुक्त हुन्छ। चिनी नराखिएको कालो चिया वा ग्रिन–टी दिनमा केही पटक लिन सकिन्छ। भात दिनमा एक पटक पर्याप्त हुन्छ र साँझ ६ बजेअघि खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। खाना खाएपछि हल्का हिँडडुलले पनि जोखिम घटाउन सहयोग पुर्‍याउँछ।

मदिरा सेवनले रक्तचाप अचानक बढाएर ब्रेन स्ट्रोक गराउन सक्छ। नियमित मदिरा सेवन गर्नेहरूमा मुटु र प्यान्क्रियाजमा समेत नकारात्मक असर देखिन्छ। त्यसैले मदिराबाट टाढा रहनु र रक्तचापको नियमित परीक्षण गर्नु आवश्यक छ। ब्रेन स्ट्रोकको उपचार समस्या अनुसार फरक हुन्छ। रगत जमेर भएको स्ट्रोकमा न्युरो इन्टरभेन्सन पद्धतिबाट क्लट निकाल्न सकिन्छ, जुन २४ घन्टाभित्र सम्भव हुन्छ। मस्तिष्कमा धेरै मात्रामा रगत जमेको अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ।

मुटु र मस्तिष्क एकअर्कासँग गहिरो रूपमा सम्बन्धित भएकाले वर्षमा एक पटक कोलेस्ट्रोल, सुगर, इसिजी र इको जस्ता परीक्षण गर्नु उपयोगी हुन्छ। परिवारमा हृदयाघात वा ब्रेन स्ट्रोकको इतिहास छ भने घाँटीका नशाको अल्ट्रासाउन्डसमेत गराउनु बुद्धिमानी हुन्छ।

स्वस्थ जीवनशैली, सन्तुलित आहार, नियमित व्यायाम र धूमपान तथा मदिराबाट दूरी नै युवावस्थामा ब्रेन स्ट्रोकबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो।

(इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)

प्रतिक्रिया दिनुहोस्