काठमाडौं — पछिल्ला केही सातायता सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारसम्म छापावाला सुनको मूल्य प्रतितोला रू. १,९८,५०० सम्म पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। तर वित्तीय बजारका विश्लेषकहरूले सुनको मूल्य यो उच्च विन्दुमा लामो समय टिक्न नसक्ने र चाँडै गिरावट आउने चेतावनी दिएका छन्।

Quant Mutual Fund नामक वित्तीय संस्था र भारतको प्रतिष्ठित समाचार संस्था The Economic Times का अनुसार, सुनको मूल्य आगामी दुई महिनाभित्र अमेरिकन डलरको सन्दर्भमा १२–१५ प्रतिशतसम्म गिरावट आउन सक्ने छ। उनीहरूले ‘सुनको मूल्य अहिले ओभरबट अवस्था (अत्यधिक खरिद गरिएको) मा छ’ भन्दै छोटो अवधिमा मूल्य घट्न सक्ने प्रक्षेपण गरेका हुन्। यद्यपि उनीहरूले दीर्घकालीन लगानीकर्ताका लागि सुन अझै पनि सुरक्षित विकल्प हुन सक्ने बताएका छन्।
यसैबीच, अमेरिकी वित्तीय अनुसन्धान संस्था Morningstar का विश्लेषक Jon Mills ले सुनको मूल्य हालको उच्च विन्दुबाट आगामी पाँच वर्षमा ३८ प्रतिशतसम्म गिरावट आउन सक्ने दाबी गरेका छन्। उनका अनुसार, सुनको मागमा कमी, आपूर्तिको वृद्धि र बजारमा देखिएको चरम लहरको कारणले सुनको मूल्य प्रति औन्स USD १,८२० सम्म झर्न सक्छ।

अन्य विश्लेषकहरूले समेत “Sell on Rise” रणनीति अपनाउन सुझाएका छन्, जसअन्तर्गत सुनको मूल्य जब उच्च विन्दुमा पुग्छ, त्यसबेला बिक्री गरेर मुनाफा सुरक्षित गर्नु उपयुक्त हुन्छ भन्ने मान्यता राखिन्छ। यस्तो रणनीति विशेषगरी छोटो अवधिका लगानीकर्ताहरूका लागि उपयोगी हुनसक्ने विश्लेषकहरूको सुझाव छ।
नेपालको सन्दर्भमा पछिल्ला दिनहरूमा सुनको मूल्य थोरै घटबढ भइरहे पनि समग्र रूपमा उच्चताकै नजिक छ। यस्तो अवस्थामा विश्लेषकहरूले लगानीकर्तालाई सतर्क रहन र बजारको सूक्ष्म अनुगमन गर्न सल्लाह दिएका छन्।


प्रतिक्रिया दिनुहोस्