चरिकोट । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले यतिबेला गृहजिल्ला दोलखाको दौडाहामा व्यस्त हुनुहुन्छ । उहाँले स्थानीय जनता, वडा र पालिकाका जनप्रतिनिधि लगायत दलका नेता कार्यकर्ताहरूसँग भेटघाट तथा विभिन्न स्थानहरुका लागि बजेटको सुनिश्चिता गर्ने आश्वासन पनि दिइरहनु भएको छ । यता करिब ३ दशक देखि अलपत्र अवस्थामा रहेको किर्नेटार–रिठ्ठाबोट –भोटेछाप सडकलाई मन्त्री काफ्लेले पक्की हुनेगरि बजेट विनियोजन गर्नुपर्ने आवाज तामाकोसी –५, रिठ्ठाबोटका स्थानीयले राखेका छन् । रिठ्ठाबोटका स्थानीयवासीहरूको सुखदुखमा पहिलादेखि नै साथ दिदैँ आउनु भएका मन्त्री काफ्लेप्रति स्थानीयवासी पनि आशावादी देखिन्छन् ।
रिठ्ठाबोट सडक किन पर्यो अलपत्र ?

दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५ मा अवस्थित किर्नेटार पुल – रिठ्ठाबोट – भोटेछाप – ढाक्रेबास सडकखण्डको लम्बाई करिव १० किलोमिटर छ । खिम्ती १ जलविद्युतको मुख्य प्रभावित स्थानमा परेकाले आयोजनाले वि.सं. २०५४ सालतिरै पक्की सडक निर्माण गरिदिने प्रतिवद्धता जनाए पनि बिजुली उत्पादन भएपछि त्यतिकै छाडेको स्थानीयवासीहरु बताउछन् । खिम्ती छिमेकी विकास परियोजना (काइण्ड) ले करिव १५ वर्ष अगाडि २० लाख रुपैयाँ खर्च गरेर सो सडकको अध्ययन गरेको भनिए पनि, केही नगरी परियोजना गायब भएको देखिन्छ ।
साविकको गाविस संरचना हुँदा र पछि केही रकम थप गरेर ट्रयाक खन्ने काम सम्पन्न गरि प्रदेश सरकारको बजेटबाट तामाकोसी करिडोरमा केही काम भएको देखिन्छ । डिपिआर समेत भइसकेको उक्त सडक निर्माणको लागि तत्कालीन प्रदेश सांसद विशाल खड्का र पालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको सक्रियतामा समपूरक अनुदान अन्तर्गत २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । २ करोडको ठेक्का खुलेपछि सबैतिरबाट बदनामी कमाएको बोगटी एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कममूल्यमा ठेक्का हात पारेर , प्रदेश र पालिकाको फितलो अनुगमनको फाइदा उठाउँदै कम्पनीका मालिक नारायण बोगटीले पालिकालाई प्रभावमा राखी कामै नगरी रकम लिन सफल भएको देखिन्छ ।
दोस्रो कार्यकालका लागि पालिका र वडामा जनप्रतिनिधिहरू आएपछि, रिठ्ठाबोट र तल्लोटारबाट हालका जनप्रतिनिधिलाई राम्रो भोट नगएपछि यस सडकमा कुनै रकम विनियोजन गरिएको छैन् । माओवादीका युवा नेता मानिने युवराज दुलाल प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा सबै प्रक्रियासहित सडक पक्की बनाउन बजेट माग गर्दा समेत १ रुपैयाँ बजेट नराखी वेवास्ता गरिएको स्थानीयको गुनासो छ । तत्कालीन मन्त्रीले अग्रिम कमिसन लिएर मात्र बजेट राखेको आरोप समेत त्यसबेला लागेको थियो । त्यो बेला तामाकोसी गाउँपालिकामा परेका अधिकांश योजनाहरु राजनीतिक नेता र नागरिकको माग भन्दा पनि विचौलियाले कसैले नदेख्ने र एकैठाउँमा दुई फरक शिर्षकबाट बजेट राखेको समेत भेटिन्छ ।
रिठ्ठाबोट सडकलाई पक्की गरिए यसले दोलखाको जिरी , चरिकोट र रामेछापको मन्थली लगायतका ठाउँहरुमा आवत जावत गर्ने सवारी साधनहरुलाई सहज हुन्छ । यो सडक खण्डले किर्नेवेशी, बिरुवा, तल्लोटार, सहरेटार र आलेडाडा जस्ता धान, गहुँ र मौसमी तथा वेमौसमी तरकार फल्ने ठूला फाटहरु र वस्तीहरुलाई जोड्दछ । यहाँ भिरपहरा र ठूला चट्टानहरु नभएकाले कम बजेट मै पक्की सडक निर्माण गर्न सकिने सम्भावना देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्