काठमाडौँ । दसैँका लागि नयाँ नोट वितरण नगर्ने जनाएको राष्ट्र बैंकले सुकिला नोटको वितरण आजदेखि सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।
कस्तो हुन्छ सुकिलो नोटर ?
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।
आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।
बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।
मुद्रा व्यवस्थापन विभागका उच्च तहका कर्मचारीलाई गभर्नर अधिकारीले एक बन्डल नयाँ नोट पनि बाहिर नजाओस् भन्ने निर्देशन दिएका छन् । बजारको आलोचना खेपेर नयाँ नोट नपठाउने निर्णय गरेको छु, भित्रभित्रै दुरुपयोग नहोस् भन्ने गभर्नरज्यूको निर्देशन छ, मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीले भने, अहिले सिलप्याक गरेर राख्नुस्, तिहारपछि भेरिफाइ गर्नुपर्छ भन्ने निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्