किर्ने – रिठ्ठाबोट– भोटेछाप सडक, कहिले होला पक्कि ?

किर्ने – रिठ्ठाबोट– भोटेछाप सडक, कहिले होला पक्कि ?

सहरे । दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेस्थित किर्ने – रिठ्ठाबोट– भोटेछाप सडक ट्रयाक खुलेको करिव १५ वर्षसम्म पनि अझै स्तरिय हुन नसक्दा ति भेगमा बस्ने नागरिकहरु यातायातको सुविधाबाट बञ्चित हुन बाध्य छन् । खिम्ती जलविद्युत आयोजनाले यस सडकलाई ३० वर्ष अघि नै बनाईदिने प्रतिवद्धता गरेको थियो ।
यतिबेला कोरोना भाईरस, यहाँका टोल – टोलमा फैलिएको छ, तर गम्भिर विरामी परेकाहरुलाई अझै डोकोमा बोकेर अस्पतालहरु लानु पर्ने बाध्यता छ । गर्भवती महिलाहरुको पिडा पनि यस्तै छ ।
किर्नेटारमा पर्ने पुष्पलाल राजमार्गबाट करिव १० किलोमिटर मात्र व्यवस्थित गर्ने हो भने जफे–हावा सडकखण्डको ढाक्रेबाससँग यो सडक जोडिन्छ र काठमाडौं तथा मधेशबाट आउने सवारीसाधनहरुलाई च्यामा, हावा, हुँदै जिरी लगायतका स्थानहरु जान यो सडक खण्ड छोटो र तुलनात्मकरुपमा भरपर्दो पनि छ ।
यस्तै, ठूला भिर, पहरा र चट्टान यस सडकखण्डमा नपर्ने भएकाले पनि सडक, कम लगानीमै स्तरिय बन्ने देखिन्छ । किर्नेटारको तामाकोशी नदि किनारमा पर्ने करिव १ किलोमिटर खण्डलाई व्यवस्थित गर्ने हो भने अन्य करिव ९ किलोमिटर सहज छ ।
किर्ने – रिठ्ठाबोट– भोटेछाप सडक खण्डमा पर्ने किर्नेटार, विरुवा, तल्लोटार र सहरेटार लगायतका कृषि उत्पादनका दृष्टिकोणबाट आकर्षक जमिनहरुमा मल, प्रविधि र ढुवानी सहजताका लागि पनि यो सडकको महत्व उच्च छ । त्यसकारण, यसलाई कृषि सडकको रुपमा पनि अगाडि बढाउन सकिने देखिन्छ ।


खिम्ती जलविद्युत आयोजनाले स्थापनाकालमै यहि स्थानबाट सहरेको माथिल्लो भेगसम्म जोड्ने स्तरिय सडक निर्माण गरिदिने वाचा त गर्यो तर विद्युत उत्पादन भएपछि सर्भे मात्र गरेर छोडिदियो ।
सुख्खायाममा जसोतसो ट्याक्टरसम्म संचालन हुने यो सडकमा, पानी पर्ने थालेपछि अवरुद्ध हुने गरेको छ । बागमती प्रदेश सरकारले एकपटक १ करोड र गत वर्ष २५ लाख विनियोजन गरेर काम गरे पनि अत्यन्तै कम बजेट उपलब्ध भएका कारण सडकको अवस्था उस्तै देखिन्छ ।
किर्ने – रिठ्ठाबोट – भोटेछाप सडकखण्डको मध्य भागमा पर्ने रिठ्ठाबोटका स्थानीयवासीहरु वडा र गाउँपालिकाले पनि सडकलाई कालोपत्रे गर्नका लागि थप पहल अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्दछन् । त्यस्तै, उनीहरुले बागमती प्रदेश सरकारलाई पनि सडकलाई कालोपत्रे गर्न पुग्ने गरि बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्