बजेटप्रति किन उत्साहित छैनन दोलखाली ?

बजेटप्रति किन उत्साहित छैनन दोलखाली ?

जेष्ठ १५ गते अध्यादेशबाट केपि ओली नेतृत्वको सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याईरहदा यसमाथि संवैधानिक प्रश्नहरु पनि उठिरहे तर गत निर्वाचनमा देशभर सबैभन्दा बढि मतान्तरसहित तत्कालिन नेकपाका उम्मेदवार तथा वर्तमान सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङलाई जिताएर पठाएका दोलखाली जनताहरु यो सरकारबाट धेरै आशावादी देखिन्थे जुन बजेट घोषणा पछि करिब निराशामा परिणत भएको जस्तो देखिन्छ ।


सञ्चार मन्त्री गुरुङको सिधैं प्रधानमन्त्री र अर्थमन्त्रीसँगको पहुँच तथा अर्का नेता आनन्द पोखरेल पनि प्रधानमन्त्रीका विश्वास पात्र, त्यसमाथि फुटको संघारतिर पुगेको एमालेको संस्थापन पक्षको जिल्ला पार्टी देखि स्थानीय सरकारसम्म रहेको दवदवालाई आधार मान्ने हो भने दोलखाको पर्यटन, कृषि, सडक र जलविद्युत लगायतका क्षेत्रमा सरकारले धेरै बजेट विनियोजन गर्ला भन्ने धेरैको अनुमान देखिन्थ्यो तर ति अनुमानहरु मै सिमित बनेको बजेटले देखाउदछ । अच्चम त तव भयो, जव दोलखाकै मन्त्रीको विभागमा पर्ने र यसअघि बजेट पनि विनियोजन भईसकेको फिल्मसिटीको ठाउँमा पूर्वमन्त्री गोकुल बास्कोटाको जिल्लामा त्यस्तै प्रकारको फिल्म सुटिङ स्टुडियो बनाईने घोषणा गरियो । यस घोषणाले दोलखाको डाङडगेमा बन्ने भनिएको फिल्मसिटीलाई थप अन्योलग्रस्त बनाईदिएको छ । राज्य मन्त्रीकै हैसियतमा पनि देवि खड्काले फिल्म सिटी निर्माण लगायतका योजनाहरुमा बजेट विनियोजन गराउन सफल भएको तथ्याङ्कले देखाउदछ । सञ्चार मन्त्रीबाट हट्नु अघि मोहन बहादुर बस्नेतले डाङडगे पुगेर फिल्मसिटीको शिलान्यास पनि गरेका थिए । चलचित्र विकास बोर्ड र दोलखा घर भएका मदनदास श्रेष्ठ लगायतका चलचित्र क्षेत्रका हस्तीहरु पनि दोलखामै फिल्मसिटी निर्माणको लागि सक्रियतापूर्वक लागि रहे तर वर्तमान प्रधानमन्त्री दोलखाको फिल्मसिटी निर्माणमा सुरुदेखि नै नकरात्मक रहिरहे त्यसलाई सकरात्मक बनाउन न दोलखालीको अपार भोटले सक्यो, न जिल्लामा उनको दवदवाले नै ।

केहि अघि नेपाली फिल्म क्षेत्रका हस्ती निर साहले भनेका थिए “दोलखामा फिल्म सिटी बनाउन भनेर स्थानीयले जग्गा पनि दिए तर नेता र कर्मचारीले त्यसलाई सेकुवा खाने ठाउँ बनाए । ”
बजेट भाषणमा दोलखाको नाम नआएको चाहि पटक्कै होइन तर प्रथामिकता र जनअपेक्षा अनुसार नभएको मात्र हो । बजेटमार्फत तामाकोशी पाँचौं बनाउने, लामाबगर– लप्चे सुरुङमार्गको निर्माण, सिंगटीदेखि तामाकोशी बजारसम्म तामाकोशी नदिमा जलयात्राको सम्भाव्यता अध्ययन र रोलवालिङ क्षेत्रमा पदमार्ग निर्माण गर्ने जस्ता विषय समेटिएका छन् । यी योजनाहरुमा पहिला पनि घोषणा हुने तर काम गर्न बजेट उपलब्ध नहुने जस्ता कार्य भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचनाहरु पनि भईरहेका छन् ।

केपि ओलीको नेतृत्वमा सरकार गठन भएदेखि आएका बजेटको तुलनामा यस पटकको बजेटलाई धेरैले सन्तुलित भनेका छन् भने कतिपयले निर्वाचनको लागि ल्याएको लोकप्रिय बजेट पनि भनेका छन् र कतिले अदालतले नयाँ सरकारको बाटो खोल्ने र यो बजेट निकम्मा बन्ने पनि भविष्यवाणी गरिरहेका छन् तर दोलखालीहरुका नजर भने फिल्मसिटी निर्माण, पर्यटन, तामाकोशी तेस्रो र चीनसँगको सिधा सम्पर्क स्थापित गर्न संघीय सरकारको सहयोग हुन्छ भन्ने मै केन्द्रित थियो ।


बजेट आएको १ दिन वितिसक्दा पनि दोलखामा केपि ओली समूहकै नेता कार्यकर्ताहरु बजेटको जोडदार समर्थनमा उत्रिएको देखिदैन् । यसले पनि तुलनात्मकरुपमा सुन्तलित बजेट ल्याएको भनेर धन्यवाद पाएका अर्थमन्त्री र समग्र बजेटलाई लिएर दोलखालीहरुमा खासै उत्साह छैन् भन्न सकिन्छ ।

(तस्विर : सामाजिक सञ्जालबाट)

प्रतिक्रिया दिनुहोस्