धनुषा । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) विरुद्ध सक्रिय रुपमा लागेको छ ।
नगरपालिकामा हालसम्म ३५० जनाको पिसिआर परिक्षण गरिएको नगर प्रमुख योगेन्द्र पजियारले जानकारी दिनुभयो । नगरपालिकामा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ जना उपचार गरेर घर फर्किएका छन् भने १७ जनाको होम आइसोलेसनमा रहेको मेयर पजियारले जानकारी दिनुभयो । कोरोना संक्रमणको कारण नगरपालिकामा एक भारतिय नागरिकको मृत्यु भएको छ । नगरपालिकाले सुरुमा २ वटा क्वारेन्टाईनको व्यवस्था गरेको थियो । अहिले बस्ने ब्यक्तीहरु कोहि नभएपछी क्वारेन्टाईनहरु खालि गरिएको उहाँले बताउनुभयो ।
महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा आफुहरु अहोरात्र लागिपरेको नगरप्रमुख पजियारले बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत नगरबासीलाई आग्रह गर्नुभएको छ । क्षिरेश्वरनाथ नगरपालिका मात्र नभएर सिंगो देश र विश्व नैं कोभिड १९ बाट प्रभावित भएको बताउदै नगर प्रमुख पजियारले यसको सहि व्यवस्थापनका लागि सरकार–सरकारबीच मात्र नभएर सरोकारवाला सबै निकायहरुबीच बढि भन्दा बढि सहकार्य र समन्वय आवश्यक भएकोमा जोड दिनुभयो । कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको नगर प्रमुख पजियारको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड बमोजिम नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख पजियार बताउनुहुन्छ । नगरपालिकाले बाहिरबाट आएका र शंकास्पद व्यक्तिहरुको पिसिआर टेष्ट गर्ने गरेको जानकारी दिनुभयो । मेयर पजियारले आवश्यक मात्रामा क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था रहेको समेत जानकारी दिनुभयो ।
नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजनाहरुलाई प्राथमिकता पूर्वक सञ्चालन गरिरहेको बताउदै नगर प्रमुख पजियारले वर्तमान संकटपूर्ण अवस्थामा पनि विकास निर्माणका कार्यहरुलाई नियमित रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । ‘ कोरोनाका कारण गत बर्ष बनेका योजनाका केहि मात्र काम सम्पन्न भएको र यो बर्ष बिकास निर्माणका कार्यलाई अझ शसक्त माध्यमबाट लेजाने सोच छ ’ मेयर पजियारले भन्नुभयो । ‘ तर अहिले पनि संक्रमितको संख्या बढ्दै गएको छ , समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको अवस्थामा अबका दिनहरुमा बिकास निर्माणका कायृहरु कसरी अघि बढाउने भन्ने कुरामा चिन्तित छौं’ उहाँले भन्नुभयो । तरपनि उपलब्ध साधन स्रोतको सहि सदुपयोग गरी कोभिडको महामारी रोक्न नगरपालिका लागिपरेको नगर प्रमुख पजियारको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्