काठमाडौं । सवारी ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन नसकेका चालकको समस्या समाधान हुने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ट्रायल पास गरेको एक साताभित्र लाइसेन्स चालकले पाइसक्ने दाबी गरेका छन् ।
गत सोमबार विभागको महानिर्देशकमा नियुक्त भएका हमालले आफ्नो कार्ययोजनामा स्मार्ट लाइसेन्स प्रिन्ट र वितरणलाई प्राथमिकतामा राखेको बताए । यातायात व्यवस्था विभागले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट मास प्रिन्टर यही ३ गते मंगलबार विभागमा ल्याएको थियो । मास प्रिन्टरको सफ्टवेयर इन्सटल भइसकेको र कर्मचारीलाई आवश्यक तालिम दिइरहेको विभागले बताएको छ । “लाइसेन्सको मागअनुसार प्रिन्ट गर्न नसकेपछि ट्रायल पास गरेर पनि चालकले लाइसेन्स पाउन सकेका थिएनन्,” महानिर्देशक हमालले भने, “मास प्रिन्टर पूर्ण रुपमा सञ्चालन हुन एक महिना लाग्ने देखिन्छ । मास प्रिन्टर सञ्चालनमा आएपछि ट्रायल पास गरेर पनि चिटको भरमा गाडी हाँक्नुपर्ने बाध्यता रहँदैन । ट्रायल पास गरेको सात दिनभित्र चालकले लाइसेन्स पाउनेछन्, यसमा म सबै सेवाग्राहीलाई ढुक्क रहन आग्रह गर्छु ।”
मास प्रिन्टरले प्रतिघण्टा चार सयदेखि पाँच सयवटा लाइसेन्स प्रिन्ट गर्छ । दैनिक सातदेखि १० हजारवटा लाइसेन्स प्रिन्ट गरिने महानिर्देशक हमालले बताए ।
विस्तारै प्रदेशलाई
सरकारले ०७५ मंसिर २८ गते यातायात नियमन र व्यवस्थापनको जिम्मा प्रदेशस्थित मन्त्रालयलाई दिइसकेको छ । तर संघस्थित विभागले हाल लाइसेन्स प्रिन्ट र वितरण गर्दै आएको छ ।
“यो काम हामी विस्तारै प्रदेशलाई हस्तान्तरण गर्छौं । तर यसका लागि समय लाग्नेछ । प्रदेशमा नै स्मार्ट लाइसेन्स प्रिन्ट सुरू भएपछि हाल काठमाडौंबाट देशभर वितरण हुँदै आएको लाइसेन्स वितरण थप सहज हुनेछ । यसका लागि प्रदेशसँग समन्वय गरेर त्यहाँका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धि गरेर मात्र प्रदेशलाई प्रिन्टको जिम्मा दिइनेछ । विवरणको सुरक्षाका लागि लाइसेन्सको सेन्ट्रल सर्भर विभागमा नै रहनेछ ।”
हाल विभागले प्रिन्ट गरेको स्मार्ट लाइसेन्स हुलाकमार्फत सातवटै प्रदेशका सबै यातायात व्यवस्था कार्यालयमा पठाउँदै आएको छ । उपत्यकामा हाल भक्तपुरको जगाती, ललितपुरके सातदोबाटो, काठमाडौंको ठूलोभर्याङ र सुकेधाराबाट दैनिक १ हजार ५ सय चालकले विभिन्न प्रकारका सवारीको ट्रायल परीक्षा दिने गरेका छन् ।
देशभरबाट सवारीको ट्रायल परीक्षा पास गरेका नयाँ चालक र लाइसेन्सको म्याद नवीकरण गर्ने पुराना चालकबाट दैनिक करिब आठ हजार चालकबाट स्मार्ट लाइसेन्सको माग हुने गरेको विभागले बताएको छ ।
दैनिक यो संख्यामा स्मार्ट लाइसेन्स माग भए पनि विभागमा रहेका नौवटामध्ये चारवटा प्रिन्टरले हाल दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म स्मार्ट लाइसेन्स प्रिन्ट गर्छन् ।
“दैनिक करिब पाँच हजारको संख्यामा प्रिन्ट हुन नसकेका करिब पाँच लाख स्मार्ट कार्डहरु मास प्रिन्टर सञ्चालनमा आएको तीन महिनाभित्र नै प्रिन्ट गरेर वितरण गरी सकिनेछ,” विभागका सूचना प्रविधि शाखाका कर्मचारी श्रीचन्द्र शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्