काठमाडौँ ।। काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संघीय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। उनी काठमाडौं–४ क्षेत्रबाट उम्मेदवार बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चुलिएको छ।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पदबाट अलग हुने तयारीमा छन्। मेयरसँगै राजु पाण्डेले पनि महानगरपालिका छाड्ने तयारी गरिरहेका छन्। पाण्डेले मेयर पद खाली भएपछि महानगरमा नरहने स्पष्ट अडान लिएका छन्, जसले उनको आगामी राजनीतिक यात्रालाई संकेत गर्छ।
पाण्डेले काठमाडौं–४ बाट उम्मेदवार बन्ने विषयमा भने औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। उनले अहिलेसम्म कसैसँग उम्मेदवारीका लागि आग्रह नगरेको र कुनै पदका लागि योजना नबनाएको जनाएका छन्।
राजु पाण्डे महानगरपालिकामा रहँदा कार्यान्वयनमुखी भूमिकाका कारण परिचित रहे। महानगरको व्यवस्थापन, सुरक्षा र अनुशासन कायम गर्ने क्रममा उनले कडा निर्णयहरू लिएका थिए। यसले उनलाई समर्थन गर्ने र आलोचना गर्ने दुवै धार बनाएको देखिन्छ।
काठमाडौं–४ क्षेत्र हालसम्म परम्परागत राजनीतिक नेतृत्वको बलियो प्रभावमा रहँदै आएको छ। यही क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएका छन् र उनी फेरि पनि निर्वाचन लड्ने तयारीमा छन्। यस्तो अवस्थामा राजु पाण्डेको सम्भावित उम्मेदवारीले प्रतिस्पर्धालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार महानगरमा कार्यसम्पादनका कारण चिनिएका व्यक्तिहरू संघीय राजनीतिमा प्रवेश गर्दा मतदातामा नयाँ विकल्पको अनुभूति हुन सक्छ। राजु पाण्डेको सम्भावित उम्मेदवारीलाई पनि यही सन्दर्भमा हेरिएको छ।
आगामी दिनमा मेयर बालेन्द्र शाह र राजु पाण्डे दुवैको औपचारिक निर्णय सार्वजनिक भएपछि काठमाडौंको राजनीतिक परिदृश्य थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्