काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले खिम्ती–१ जलविद्युत आयोजनाको शेयर प्रभावित स्थानीयबासीलाई दिनुपर्ने माग गर्दै ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्रालय सहित सम्बन्धित निकायमा सक्रिय पहल गरिरहेका छन्। वडा नं. ५ का अध्यक्ष शम्भु फुँयालले पनि नागरिकहरूसँग अन्तरक्रिया गर्दै यस विषयलाई अघि बढाइरहेका छन् भने रामेछापको गोकुलगंगा गाउँपालिका तामाकोसीसँग सहकार्य गरेर अभियानमा सक्रिय रूपमा जुटिरहेको छ।
यस अभियान लामो समयदेखि जोडतोडका साथ लागिरहेका वडा अध्यक्ष फुँयालले अव आयोजनासँग प्रभावित क्षेत्रका वासिन्दालाई शेयर दिनुको विकल्प नभएको बताएका छन् ।
६० मेघावाट क्षमताको, खिम्ती–१ जलविद्युत केन्द्र २६ वर्षदेखि निजी क्षेत्रबाट विद्युत उत्पादन गर्दै आएको छ। केही दिन मात्र तामाकोसीका अध्यक्ष केसी र गोकुलगंगा अध्यक्ष काजीबहादुर खड्काको टोलीले सिंहदरबारमा ऊर्जा मन्त्री कुलमान घिसिङलाई भेटेर स्थानीयलाई सेयर दिलाउन दिन आग्रह गरेका थिए। मन्त्री घिसिङले छिट्टै संयुक्त कम्पनी बनाएर स्थानीयलाई सेयर व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

सिन्धुपाल्चोकको ४५ मेगावाट क्षमता भोटेकोसी जलविद्युतमा स्थानीयलाई सेयर सुनिश्चित भएपछि यो मुद्धाले खिम्तीका प्रभावितहरुमा उत्साह थपिरहेको छ । दुवै आयोजना को सम्झौता र लगानीको प्रारूप समान भएकाले यस्तो भएको हो । केही समय अगाडि दोलखाका ९ स्थानीय तहका प्रतिनिधि, नागरिक समाज र त्यतिबेला ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरण प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति मा संयुक्त रूपमा स्थानीय सहभागिताको प्रतिवद्धता जनाइए पनि सरकार परिवर्तन र मन्त्रीमा फेरबदलका कारण यसले पूर्णता पाउन सकेको थिएन ।
धेरै वर्ष अगाडि देखि पर्याप्त मुनाफा कमाएर यो आयोजनाको आधा स्वामित्व नेपाल सरकार मातहत आइसकेको छ । विभिन्न बहाना बनाएर यस आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई शेयर दिने मुद्दालाई वेवास्ता पनि गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्