हाइभाल्टेजको पासोमा दोलखाको तल्लोटार, सरोकारवाला बेखबर

हाइभाल्टेजको पासोमा दोलखाको तल्लोटार, सरोकारवाला बेखबर

दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ५ स्थित तल्लोटार भन्ने स्थान, रामेछापको फुलासीमा निर्मित विद्युत सबस्टेशनका कारण टावरमय भएको छ । ४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित करिव आधा दर्जन जलविद्युत आयोजनाहरुको प्रशारण लाइनको संगमस्थल बनेको तल्लोटार हाइभोल्टका आधा दर्जन टावरका कारण जोखिम क्षेत्र बनेको छ ।  यो क्षेत्र मानव बसोवासका लागि जोखिमपूर्ण मानिन्छ ।

परापूर्वकालदेखि विशेषगरि धान र गहुँ उत्पादनका दृष्टिकोणबाट उर्वर यो क्षेत्र, अति जोखिमको क्षेत्रमा परिणत हुँदा पनि स्थानीयवासीहरुलाई टावरले ओगटेको क्षेत्रको मात्र न्यून क्षतिपूर्ति दिएर जलविद्युत आयोजनाहरुले फकाए पनि यहाँका स्थानीयहरुमा त्रासको वातावरण छ । स्थानीय सरकार बनेपछि वडा र तामाकोशी गाउँपालिकाले गाउँलाई सुरक्षित राख्न वा उचित क्षतिपूर्ति दिएर अन्यत्र जानको लागि विकल्पको लागि सम्बन्धित निकायसँग पहल गर्नु पर्ने भए पनि ति कार्यालयहरु यसमा वेखबर जस्तै छन् ।

गत साउन २८ गते सामाजिक सञ्जालमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हाइभोल्टको तारले रुखमा छोएपछि भएको आगलागीको भिडियो सार्वजनिक भएपछि यहाँका स्थानीयमा झनै त्रास छाएको छ ।

गत साता यहाँका एक जना स्थानीय यूवा, मिराज खड्का आयोजना र सरकारले, गाउँवासीहरुको जिउज्यानको जिम्मा लिनु पर्ने भन्दै हातमा निवेदन लिएर विभिन्न राजनितिक दल र नेताको ढोकामा पुगे पनि चित्तोबुझ्दो जवाफ भने पाएनन् । उनको विचारमा उपर्यूक्त विकल्प दिएर स्थानीयवासीहरुको जिवनलाई सुरक्षित र सहज बनाउन सबै निकाय लाग्नु नितान्त आवश्यक छ ।

यस क्षेत्रमा करिव डेढ दर्जन घरधुरीहरुको वसोवास रहेको छ ।

सेयर बजारमा जलविद्युत आयोजनाहरुका कारण हरियाली छाए पनि तल्लोटारवासीहरुको त्रासलाई भने सम्बोधन गर्ने तर्फ आयोजनाहरुको अग्रसरता नहुनु आफैमा दुखद हो । यी आयोजनाहरुले विजुली बेचेर वर्षमा खर्वौं आम्दानी गर्दै मालामाल हुने निश्चित छ यसकारण, उनीहरुले तल्लोटारवासीहरुको लागि एकमुष्ट क्षतिपूर्ति दिएर उनीहरुको जिवनलाई सुरक्षित र सहज बनाउन अग्रसर हुनु पर्ने देखिन्छ र त्यसको लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको  अग्रसरता पनि महत्वपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्