दाइजो कम भएको भन्दै मण्डपबाट बेहुली छाड्ने पक्राउ

दाइजो कम भएको भन्दै मण्डपबाट बेहुली छाड्ने पक्राउ

विराटनगर/ दाइजो कम भएको भन्दै विवाह मण्डपमै बेहुली छाड्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । माेरङ जिल्लाको जहदा गाउँपालिकाकी एक २१ वर्षीया यूवतीलाई विवाह गर्ने क्रममा दाईजो कम भएको भन्दै मण्डपमै छाड्ने जहदा ४ का २४ वर्षीय लक्ष्मण राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विवाह कसुर आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्त्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार केटाकेटीले हेराहेर गरेर मनपराएपछि दुवै पक्षबीच ३ जेठमा परम्परागत विवाह गर्ने सहमति भएको थियो । सोही अनुसार बेहुला लक्ष्मण बाजागाजासहित जन्ति लिएर बेहुलीको घर पुगेका थिए । तर मागे अनुसारको दाईजो नभएको भन्दै बेहुला लक्ष्मण विवाह कर्म गर्दै गरेको अवस्थामा मण्डपमै बेहुली छाडेर जन्तिसहित घर फर्केका थिए । उनले माग गरे अनुसार मोटरसाइकल, सुनको सिक्री र डाईनिङ टेबल दाईजोमा नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

दाइजोकै कारण विवाह गरिसकेकी बेहुली छाडेर अलपत्र पारेको भन्दै केटी पक्षले प्रहरीमा उजुरी गरेको थियो । सोही उजुरीको आधारमा प्रहरीले ८ जेठमा घरबाटै बेहुला लक्ष्मणलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्