सबै जनाको साथ र सहयोगको कारणले गर्दा संक्रमण भित्रन पाएको छैनः वडाध्यक्ष पहाडी

सबै जनाको साथ र सहयोगको कारणले गर्दा संक्रमण भित्रन पाएको छैनः वडाध्यक्ष पहाडी

काकरभित्ता, सिन्धुली । दुधौली नगरपालिकाको वडा नं. १ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष गोविन्द प्रसाद पहाडीले बताउनुभयो । हालसम्म वडामा कोही पनि संक्रमण नभएकाले कोरोनाको असर नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएको कारणले त्यस्तो प्रभाव परेको छैन । बाहिरबाट आउने व्यक्तिहरूलाई नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन राखेर पि.सि.आर परीक्षण गरी रिर्पोट अनुसार काम कार्वाही गर्ने व्यवस्था छ । ’


सबै जना एकजुट भएर यस रोगको रोकथाममा लागेकाले ठूलो समस्या नआएको पहाडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस महामारीमा सबै जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी सबैको सक्रियातामा काम गरिरहेको हुनाले संक्रमण भित्रन पाएकौ छैन त्यसकारणले खासै समस्या भएको छैन । ’

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले जानकारी गराउनुभयो । ‘विश्वमै यस कोरोना भाइरसको कारणले सबै आक्रान्त भएका छन् । नेपालमा पनि विभिन्न जिल्लामा संक्रमित बढेको छ यस्तो अवस्थामा पनि हामीहरूले यसबाट बच्ने उपायहरू अपनाई वडाबाट दिने सेवाहरू दिइरहेका छौं । हालसम्म संक्रमण नदेखिएकाले सबै खुशी र सन्तुष्टी नै छन् ’, वडा अध्यक्ष पहाडीले भन्नुभयो ।


वडाले विकास निर्माणका कामका लागि योजनाहरू बनाएर पठाइसकेको छ । नगरसभाबाट पारित भएका योजनाहरू विस्तारै अगाडि बढाउने तयारीमा रहेको पहाडीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्