सबै मिलेर यस रोगको व्यवस्थापनमा जुटेका छौँः अध्यक्ष गड्शिला

सबै मिलेर यस रोगको व्यवस्थापनमा जुटेका छौँः अध्यक्ष गड्शिला

डोटी । कोरोना भाइरसले विश्वभर त्रसित बनाएको छ । दिनानुदिन संक्रमणको दर फैलिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । नेपालमा पनि कोरोना भाइरसले भयानक रूप लिदै गइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । नेपाल मिडिया सेन्टरले बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलालाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेक छन् भन्ने प्रश्न गरेका थियौँ । उहाँले गाउँपालिकामा २९ जनालाई कोरोना संक्रमण देखिएको थियो अहिले ती सबै संक्रमित ठीक भई घर फर्किसकेको बताउनुभयो । भारतबाट आएका व्यक्तिहरूमा कोरोन संक्रमण देखिएको उहाँले बताउनुभयो ।


त्यसैगरी हालसम्म ७०० जनाको पि.सि.आर परीक्षण भइसकेको अध्यक्ष गड्शिलाले नेपाल मिडिया सेन्टरलाई जानकारी गराउनुभयो । सुरुमा गाउँपालिकाले १७ वटा क्वारेन्टाइनको व्यवस्था गरेको थियो भने हाल ३ वटा क्वारेन्टाइन रहेको अध्यक्षले बताउनुभयो । क्वारेन्टाइनमा भने हाल ४० जना व्यक्ति रहेका छन् । त्यसैगरी कोरोना भाइरससँग लड्न केही स्वास्थ्य समाग्री प्रदेश सरकारले सहयोग गरेतापनि गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

महामारीले गर्दा दैनिक जिवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भर्खर भर्खर बनेको स्थानीय सरकार यस्तो महामारीको सामना गर्नुपर्दैछ । सुरुको अवस्थामा एकदमै आतङ्कित तुल्याएको थियो । प्रत्यक्ष रूपमा सबै मिलेर यस रोगको व्यवस्थापनमा जुट्यौँ । अहिले २८ गतेसम्म निषेधाज्ञा जारी छ । व्यवसायी, मजदुरहरूको सामान्य गुनासो आएको छ । यस अवस्थालाई सबैले बुझिदिनुपर्यो नत्र सबैजना चपेटामा पर्छौँ । ’ उहाँले यस महामारीबाट बच्न मुख्य कुरा अनुशासन रहेको समेत बताउनुभयो ।

यस महामारीबाट बच्न गाउँपालिकाले सम्पूर्ण शक्ति परिचालन गरी कोरोनाबाट बच्ने उपायहरू सबै सामु पुर्याएको अध्यक्ष गड्शिलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेडियो, टेलिभिजनमार्फत पनि हामीहरूले जनचेतना दिएका छौँ । मास्क, स्यानीटाइजर लगायतका समाग्री वीतरण गरेर सबैलाई सतर्क बनाइरहेका छौँ ।’

गाउँपालिकाले यस महामारीबीच पनि आफ्नो ठाउँलाई समृद्ध बनाउन विभिन्न कार्यक्रमहरू ल्याएको अध्यक्षले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘मुख्य गरेर यातायातलाई सहज बनाउने, विजुली, खानेपानीलाई सम्पूर्ण वडाहरूमा घरघरमा पुर्याउने तथा कृषिमा सम्पूर्ण यूवाहरूलाई अग्रसर गराई रोजगारको सुनिश्चितता दिने प्रयत्न गरेका छौँ । त्यसैगरी जलवायु परिवर्तनका कारणले बाढी पहिरो जस्ता विपतका बेलामा बच्नका लागि दीर्घकालिन स्वास्थ्य संरचनाहरूलाई मजबुत बनाउने, भौतिक संरचनालाई पनि मजबुत बनाउने लगायत दिगो विकासतर्फ लैजान धेरै योजनाहरू ल्याएका छौँ । ’

मिडियाले गरेको काम प्रति धन्यावद दिदै उहाँले भन्नुभयो, ‘मिडियाले गर्दा जनताले घरघरमा सरकारका नीतिनियम, कार्यक्रम, जनचेतनाका कुराहरू सजिलैसँग सुन्न, बुझ्न, हेर्न पाएका छन् । यसैले स्थानीय सरकार र मिडियाबीच राम्रो सहकार्य हुनुपर्छ । ’ यसको साथै उहाँले नेपाल सरकार, विश्व स्वास्थ्य संगठन तथा विज्ञहरूले यस महामारीमा दिएका सुझावहरूलाई सबैले आत्मसाथ गरिदिन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्