काठमाडाैँ । कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ ।
पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो ।
पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए ।
जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो ।
२ वटा जिपिएसको सहायताबाट दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’
यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।
वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।
स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरुले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्