नारायण श्रेष्ठ / सावित्री घर्ती, चरिकोट ।
दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५, सहरेका यूवाहरुले आफ्नो ठाउँमा भईरहेका विकासका कामहरुमा पार्दर्शिता खोज्ने अभियानको थालनी गरेका छन् । खास गरि केन्द्रदेखि प्रदेश र स्थानीय तहको बजेटबाट भईरहेका निर्माणका कामहरु, के कति भए ? ति कामहरु कतिसम्म गुणस्तरका छन् त, भन्नेमा उनीहरुको मुख्य चासो रहेको देखिन्छ । यसको लागि उनीहरुले गाउँमै उपलब्ध यूवा प्राविधिकहरुको सहारा पनि लिएका छन् र त्यसबाट आएको तथ्याङक्लाई सामाजिक सञ्जालबाट शार्वजनिक पनि गरिरहेका छन् । उनीहरुको यस्तो कार्यले यतिखेर सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेकोे देखिन्छ ।
खिम्ती जलविद्युत आयोजनाको पावर हाउस समेत रहेको किर्नेटार–रिठ्ठाबोट– भोटेछाप सडक खण्डको प्रवेश विन्दुमा प्रदेश सरकारको करिब २५ लाख रुपैयाँमा निर्मित वालको सामान्य नाप जाच गरि त्यसबाट आएको तथ्याङ्कलाई पनि उनीहरुले शार्वजनिक गरेका छन् । त्यस्तै, करिव ३० लाख बजेट खर्च गरिएको भोर्ले–भोटेछाप–ढाक्रेबासको ग्राभेल र स्तरउन्नति गर्ने कार्यको पनि यूवाहरुले निरीक्षण गरेका छन् ।
जनताले तिरेको करबाट आफ्नो ठाउँमा के कस्तो बिकास निमार्णको कामहरु भइरहेको छ, त्यसको खोजी गर्नु नै अभियानको मुख्य उद्धेश्य भएको सोहि अभियानमा संलग्न एक जना यूवा भुवन केसीको तर्क छ । उनका अनुसार व्यवस्थामा परिवर्तन आए पनि काम गर्ने मानसिकतामा कुनै परिवर्तन छैन् । यस्तै, भनाई राख्छन् सोहि अभियनमा सक्रिय यम विक्रम खुलाल पनि । विकास निर्माणका कामहरु खाली बजेट सिद्ध्याउने उद्धेश्यले मात्र भएको देखिन्छ गुणस्तर पक्ष चाहि कमजोर रहेको अभियान मार्फत पत्ता लागेको केसीको दाबी छ ।उनी भन्छन, रकम खर्च गरिए अनुसार क्वान्टिटी र क्वालीटीको काम भएको भन्ने कुनै आधार नै छैन् ।
सामान्य जनताले बुझ्ने गरि हेर्दा पनि १० लाखको काम मुस्किल भएको देखिन्छ अनि बजेट २५ लाख खर्च भएको छ, कसरी चित्त बुझाउने ? शैलुङ्ग गाउँपालिकामा गरिएको ग्राभेलले देशभरका मिडिया पिटिरहेका बेला त्यहाँ गरिएको ग्राभेल भने ढुंगाको सतह नै नमिलाई बजेट सक्ने मनशायले मात्र काम गरिएको उनको आरोप छ ।
हामीले पनि सामान्य स्टिमेट जानेका छौं र नाप जाँच गर्दा एकलौटी ढंगले गुणस्तरहिन सडक बनाएर पैसा कुम्ल्याउने बाटो मात्र गरिएको जस्तो देखियो भन्छन् सोहि अभियानमा सक्रिय अर्का स्थानीय यूवा पारस बिक्रम खड्का ।
के भन्छन त जनप्रतिनिधि ?

सांसद बिकासको कोषको बजेट सिधै सांसद मार्फत सडक उपभोक्ता समितिलाई आउने भएकोले उक्त बजेटमा गाँउपालिकाको निगरानी मात्रै हुने तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको भनाई छ । स्थानीय यूवाहरुले लगाएको आरोपलाई हल्ला र बकवास मात्र मान्छन् अध्यक्ष पोखरेल । उनका अनुसार योजनाको इस्टिमेट अनुसार नै काम भएको छ । तर, आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट निकासा गरिएकाले हतारमा काम गर्नु परेको उनको दाबी छ । आफूले ४ महिनादेखि पहल गरे पनि बजेट अन्तिममा दिएकाले काममा ढिला चाहि भएको हो, उनी भन्छन् ।

तामाकोसी गाँउपालिका वडा नं.५, सहरेका वडा अध्यक्ष राजन रोकाहा पनि स्थानीय यूवाहरुको आरोपलाई निराधार भन्छन् । उनी भन्छन् वडाले प्राविधिकसहित निरीक्षण गरेको छ, त्यसकारण, असाध्यै राम्रो काम भएको छ भन्ने पनि होइन तर नराम्रो पनि भन्न मिल्दैन ।
जिप्रका र अख्तियारमा उजुरी
यसैक्रममा, गरिव जनताले सकि नसकि तिरेको करको व्यापक दुरुपयोग भएको र विकास निर्माणका काममा पनि चरम अनियमितता गरेको भन्दै आज जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको छ । प्रदेश ३ सरकार तथा तामाकोशी गाउँपालिकाको बजेट मार्फत बनेका सडकहरुमा गुणस्तरियता कायम नभएको, स्टमेट भन्दा कम काम भएको, गाउँ पालिका र वडा तहले अनुगमन नगरेको बिकास निर्माणका काम निरीक्षण गर्न दक्ष प्राबिधिक र अनुभव नभएका प्राबिधिक फिलमा खटिने गरेको र वडाले कुनै पनि बिकासनिर्माण कार्य सम्पन्न भएपनि सार्वजनिक सुनाइन् नगरेको भन्दै सोही गाउँपालिकाका भुवन केसीले उजुरी दिएका हुन्। अनियमितताको जाचँ बुझगरि दोषी माथि आवश्यक कारवाही गर्न पनि सोहि उजुरी मार्फत माग गरिएको उजुरीकर्ता भुवन केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्