कपुरकोट ।
कपुरकोटबाट एक महिनामा साढे सात करोडभन्दा बढी मूल्यको तरकारी बिक्री भएको छ। कपुरकोट सल्यानको तरकारीको पकेट क्षेत्र हो। यहाँ उत्पादन हुने ताजा तरकारी तथा फलफूल नेपालगञ्ज, बुटवल, धनगढी, घोराही, तुलसीपुरलगायत विभिन्न जिल्लामा निर्यात हुने गर्छ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार एक महिनाको अवधिमा मात्रै साढे सात करोड रुपैयाँभन्दा बढीको तरकारी निर्यातभएको हो। कपुरकोटका किसानले तरकारीबाट सात करोड, ६९ लाख, १३ हजार, चार सय ४३ रुपैयाँ जिल्लामा भित्र्याएका छन्। कृषकले एक महिनाको अवधिमा आठ हजार एक सय ३४ क्विन्टल तरकारी तथा फलफूल बिक्री गरेका हुन्।
कृषि उपज बजार केन्द्र कपुरकोटका सञ्चालक समितिका अध्यक्ष टंक परियारका अनुसार कृषकले उत्पादन गरेको तरकारी खरिद गरेर बाहिरी जिल्लामा बिक्री गरेको हो। पछिल्लो समय यहाँका किसान व्यावसायिक तरकारी खेतीमा लागेपछि खेतबारीमै पुगेर तरकारी खरिद गर्न सजिलो भएको उनले बताए। उनका अनुसार एक महिनामा तीन हजार क्विन्टल टमाटर, ६ सय ९७ क्विन्टल बन्दागोभी, चार सय २८ क्विन्टल फूलगोभी, एक सय १२ क्विन्टल सिमी, चार सय ५२ क्विन्टल भेडे खुर्सानी, ५३ क्विन्टल काँक्रा, ४९ क्विन्टल हरियो खुर्सानी, ११ क्विन्टल गाँजर, १३ क्विन्टल मुला, २४ क्विन्टल लसुन, १६ क्विन्टल अदुवा र चार क्विन्टल नासपाती जिल्ला बाहिर निर्यात भएको हो।
अर्गानिक उत्पादनमा जोड
तरकारीको पकेटक्षेत्र कपुरकोटमा पछिल्लो समय अर्गानिक तरकारी उत्पादन गर्न थालिएको छ। रासायनिक मल र अत्यधिक विषादीको प्रयोगले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा असर पार्दै गएपछि किसान अर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन्।
गाउँपालिकाले समेत कपुरकोट क्षेत्रलाइ विषादीरहित तरकारी उत्पादन क्षेत्र बनाउने अभियान सञ्चालन गरेको छ। कृषक रमेश बुढाले कपुरकोटलाई अर्गानीक तरकारी पकेट क्षेत्रका रूपमा चिनाउन तरकारी उत्पादनमा विषादीप्रयोग गर्न छोडेको बताए। गाउँपालिका स्तरीय कृषक मूल समितिका अध्यक्ष ईश्वर बुढाका अनुसार पालिकाको पहलमा अर्गानिक तरकारी उत्पादन गर्न थालिएको हो।
यहाँका किसानले तरकारीमा विषादी प्रयोग छोडेपछि तरकारीमा लाग्ने रोग नियन्त्रण गर्न शत्रुजीव र मित्रजीवको पहिचान गरी वनस्पती वा जडीबुटीको झोल जस्ता जैविक विषादी प्रयोग गरिरहेका छन्। तर, विषादीरहित तरकारीलाइ लामो समयसम्म टिकाउन समस्या हुने भएकाले तत्काल बजार पुर्याउनुपर्ने समस्या छ। कपुरकोटका करिब ७० प्रतिशत स्थानीयले व्यावसायिक तरकारीखेती गर्दै आएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए।
प्रतिक्रिया दिनुहोस्