भरतपुर/ चितवन भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र (ढाट) लाई जिल्लाकाे राप्ती नगरपालिकामा स्थानान्तरण गर्न सिफारीस गर्ने निर्णय भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकले गोन्द्राङको ढाट राप्ती नगरपालिका ४ डडुवामा स्थानान्तरणका लागि सिफारीस गर्ने सहमति भएको हो ।
एउटै जिल्ला भएर पनि सदरमुकामसम्म काम गरेर फर्कदा शुल्क तिर्नु पर्ने वाध्यता रहेको भन्दै पूर्वी चितवनवासीले गुनासो गर्दै आएका थिए । सो ढाट स्थानान्तरण गर्न माग गर्दै पूर्वीचितवनका उद्योगी व्यवसायीहरुले प्रजिअलाई माग पत्र वुझाएको दुई दिन पछि ढाटमा आगजनी समेत भएको थियो । सो क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का आगोले पोलेर घाइते भएकी छिन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही घटनाको विषयलाई लिएर प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित केपी लामिछाने र खिलप्रसाद घिमिरेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार बैठकले घटनाको निन्दा गर्दै वास्तविक दोषी पत्ता लगाई कारवाही गर्ने, अघिल्लो ठेकेदारहरुसँग सेवा सुविधाका विषयमा भएको सहमतिलाई निरन्तरता दिने, प्रहरी सहायक निरीक्षक खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीबाटै सम्पूर्ण उपचार खर्च भराउने सहमति भएको छ । वैठकमा प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,जिल्लाका स्थानीय तहका मेयरहरु, जिल्लाका राजनितिक दलका नेताहरु,चितवन प्रहरी प्रमुख शुशिलसिंह राठौर लगायत सहभागि थिए ।
संलग्नता नरहेको दावी गर्दै विज्ञप्ति
गोन्द्राङ ढाट घटनामा संलग्न रहेको भनेर नाम जोडिएपछि प्रदेश सांसद कृष्ण खनालले खण्डन गर्दै विज्ञप्ति जारी गरेका छन् । खनालले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकेर दासढुंगाबाट रत्ननगरतर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा जनप्रतिनिधि भएकोले बोलिदिनु प¥यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले आफूले केही कुरा बोलेको विज्ञप्तिमा उल्लेख छ । सोही समयमा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी कर्मचारी असई कल्पना पौडेल घाइते भएको भन्दै सांसद खनालले विज्ञप्तिमा दुःख व्यक्त गरेका छन् । उनले घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उनले विज्ञप्तिमा सडक करको नाममा जिल्लाभित्रकै अर्को नगरका जनतालाई प्रत्यक्ष असर पर्ने गरी ढाट राखिनु सर्वथा उचित नभएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्