दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाले कोरानाको सामना गर्न बिभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिहेको उपप्रमुख तारा कुमारी खत्रीले बताउनुभयो । नगरपालिकामा ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा ७ जना ठीक भएर घर फर्किसकेका छन् भने बाँकी २ व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार भइरहेको खत्रीले बताउनुभयो । नगरपालिकामा कोरोना भित्रिन नदिन सिमा नाकाहरूमा हेल्प डेक्स संचालन, नाकामा कडाई, विभिन्न जनचेतनामूलक कामहरू गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकामा हालसम्म ४०० जनाको पि.सि.आर र १६०० जनाको आर.डि.टी परीक्षण भइसकेको उपप्रमुखले जानकारी गराउनुभयो ।
भारतबाट आएका व्यक्तिहरूमा संक्रमण देखिएको खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमणको मुख्य स्रोत भनेको भारतबाट आउने व्यक्तिहरू हुन् । ’ त्यसैगरी सुरुमा २७ वटा क्वारेन्टाइनको व्यवस्था गरेको नगरपालिकाले हाल भने क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएकाले २ वटा क्वारेन्टाइन सञ्चालन गरेको छ । साथसाथै नगरले एउटा आइसोलेसनको पनि व्यवस्था गरेको उपप्रमुखले जानकारी गराउनुभयो ।
यस महामारीलाई नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालयले केही मात्रामा स्वास्थ्य समाग्री र प्रदेश सरकारले ५० लाख रुपैया सहयोग गरेको उपप्रमुखले जानकारी गराउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि सबै नगरबाटै उपलब्ध गरेको उपप्रमुखले बताउनुभयो ।
यस महामारीबाट जोगिन सफल साथसाथै ठूलो समस्याको समाधान भएको उपप्रमुखले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै ठूलो समस्याको समाधान भएको महशुुस गरेको छौँ । विदेशबाट १९०० हारहारीमा आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर नियन्त्रण गर्न सफल भएका छौँ । ’ नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो भनेर नगरले विकास निर्माणका लागि छुट्याइएको बजेट समेत यस महामारीलाइ नियन्त्रण गर्न खर्च गरेको खत्रीले बताउनुभयो ।
नगरपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत गराइरहेको छ ।
महमारीले ठूलो समस्या आएकाले विकास निर्माणको काम अघि बढ्न नसकेको उपप्रमुख खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीले गर्दा जनताको इच्छाअनुसारको काम गर्न सकिरहेको अवस्था छैन ।’ उहाँले यस महामारीलाई नियन्त्रण गर्न र विकासको कामहरूलाई निरन्तरता दिनलाई प्रदेश सरकार र केन्द्र सरकारबाट सहयोगको अपेक्षा राख्नुभएको थियो ।
मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै उपप्रमुख खत्रीले सम्पूर्ण नेपालीप्रति कोरोनालाई सामान्य रूपमा नलिकन यसविरुद्ध लड्न सजग र सतर्कता अपनाउन विनम्र अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्