जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारको अगुवाईमा जनकपुरधाममा बुधबार बिहान प्रभातफेरी गरिएको छ ।
१२ औं गणतन्त्र दिवसको अवसरमा पारेर आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमुना रहेको बताए ।
तीन तहको सरकार बनिसकेकोले अव विकास निर्माणको जिम्मा हामीसबैको रहेको उनले जनाए । सबैले आ आफनो जिम्मेवारी पुरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे । प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षानिकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । पहिलो दिन हिजो जनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दिपावली मनाइएको थियो ।
दोश्रो दिन आज बिहान प्रभातफेरी गरिएको छ । साँझा दीप प्रज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए । भोली चियापान कार्यक्रम गरेर तीन दिने कार्यक्रमको समापन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्