स्पेन/बार्सिलोना । बार्सिलोनामा गत हप्ता सम्पन्न राहदानी घुम्ती शिविर संचालनका क्रममा विवाद भएपछि यतिबेला दुतावास र एनआरएनए आरोप र खण्डनमा उत्रिएका छन् । स्पेनस्थित नेपाली दूतावासले एउटा विज्ञप्तिमार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्षसहितका पदाधिकारीहरूले शिविरका क्रममा ‘निन्दनीय र धम्कीपूर्ण व्यवहार’ गरेको आरोप लगाएको छ एनआरएनए स्पेनले उक्त आरोपलाई भ्रामक आरोप भनेको छ । दूतावासले अक्टोबर ११ र १२ का लागि तय गरिएको घुम्ती शिविरमा एनआरएनए स्पेनको अनुरोधमा सेवा एक दिन थपिएको भए पनि १३ अक्टोबरमा केही विवाद भएको थियो ।

सोही क्रममा एनआरएनए स्पेनले अवस्थालाई सहजीकरण गर्न खोज्दा शिविरमा खटिएका पदाधिकारीसँग विवाद भएको थियो । यसको मुख्य कारण भने, शिविरमा पासपोर्ट बनाउने तथा नवीकरण लगायतको संख्यालाई आकलन नै नगरी शिविर संचालनको तयारी गर्नु रहेको देखिन्छ । शिविरमा ठूलो संख्यामा सेवा लिनेहरु आएपछि दुतावासका कर्मचारीहरुले फिर्ता बोलाइएको भन्दै सेवा स्थगित गरेका थिए । एनआरएनए स्पेनले पनि विज्ञप्तीमार्फत नै सेवालाई प्रभावकारी र सहज बनाउन सहजीकरण गरेको र यो आफ्नो मुख्य जिम्मेवारी रहेको जनाएको छ । साथै, नागरिकलाई दुतावास सहज सेवा दिन पनि नसकेको र आफूहरुले सहजीकरण गर्दा उल्टै असत्य र भ्रामक आरोप लगाएको पनि उल्लेख गरेको छ ।गैर आवासीय नेपाली संघ, स्पेनका सहकोषाध्यक्ष सुमन खड्काले स्थिति केही असामान्य भए पनि संघ र दुतावासले विश्वासको वातावरण बनाएर आगामी दिनमा सेवाहरुलाई सहज र परिणाममुखी बनाउनुको विकल्प नभएको धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार , बार्सिलोना शिविरमार्फत ४८४ जना नेपालीहरूले राहदानी सेवा प्राप्त गरे — जुन हालसम्मकै सबैभन्दा ठूलो संख्या हो । यसमा गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, साना बालबालिका र मानसिक स्वास्थ्य समस्याका नागरिकलाई विना झनै सहज सेवा दिन सहजीकरण गरेको पनि छ ।





प्रतिक्रिया दिनुहोस्