दोलखा– हिमपर्वत हाइड्रोपावर लिमिटेडले निर्माण गरेको साँघु खोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । दोलखाको विगू गाउँपालिका–८ मा निर्माण भएको २० मेगावाट क्षमताको साँघु खोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो । आयोजनाको सम्पूर्ण निर्माण पूरा भएपछि सबै संरचनाको परीक्षण पूरा गएपछि विद्युतको परीक्षण उत्पादन सुरु गरेको हो ।
आयोजनाको हेडवक्समा रहेका इन्टेक, बाँध, कल्भर्ड, डिस्याण्डर र गेटहरुको परीक्षण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणबाट आएका प्राविधिक टोलीले विद्युत गृहका विभिन्न उपकरणको परीक्षण पूरा गरेर शनिबार दिउँसोदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको प्रवर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । परीक्षण उत्पादनका क्रममा नेपाल विद्युत प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत उपलब्ध गराउनु पर्छ ।
दसैं लगत्तै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने छ । साँघु खोला र पेगू खोलाको दोभानमा बाँध निर्माण गरी बालुवा थिग्रयाउने पोखरीबाट बनाएर दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत उत्पादन गरिएको छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ । एक महिना अघि नै विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि गत साउनमा आएको बाढीले क्षति भएका कारण आयोजनाको उत्पादन एक महिना ढिला भएको हो ।
यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टक पाइप जडान गरिएको छ । सोरुङ खोलामा विद्युत गृह निर्माण भएको छ । सोरुङ खोलामा स्वीच्याड निर्माण गरिएको छ । यहाँ भविष्यमा निर्माण हुने अन्य जलविद्युत आयोजनालाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सबस्टेशनमा जोडिएको छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् ।
यसअघि यही कम्पनीले ५.५ मेगावाटको साँघु खोला आयोजनाबाट २ महिनाअघि विद्युत उत्पादन गरिसकेको छ । दुवै आयोजनाको निर्माण व्यवसायी सिभिलततर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा ट्रेडिङ प्रालि रहेका हुन् । हिमपर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ८० करोड रहेको छ छ ।
दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा हिमालयन बैंक र माछापुच्छ्रे बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानी ६५:३५ को अनुपातमा छ । हिमपर्ततका यी दुवै आयोजना अनुमानित लागतभित्रै सकिएको यस कम्पनीका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । हिमपर्वत हाइड्रोपावरले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
जसका लागि कम्पनीले सिबिआई एल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ । हिमाल गुरुङको नेतृत्वमा गौरीशंकर गाउँपालिका–५ मा यसअघि १५ मेगावाटका २ जलविद्युत आयोजनाले उत्पादन गरी सेयर बजारमा समेत मकरजितुमाया कम्पनीबाट सूचीकरण गरी कारोबार समेत हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्