इतिहास खोज्दै पौडेलहरू पौडीतिर

इतिहास  खोज्दै पौडेलहरू पौडीतिर

दिलसागर पौडेल, दोलखा

फागुन १७, २०८१

आत्रेय गोत्री पौडेलहरू आफ्नो थातथलो खोज्दै बझाङको पौडी पुगेका छन् । बझाङको केदारस्यू गाउँपालिकामा पर्ने पौडीबाटै पौडेलहरू देशभर फैलिएका हुन् । आफ्नो वंशको थातथलो खोज्दै फागुन ७ गते काठमाडौंबाट हिडेको पौडेलहरूको टोली विभिन्न जिल्लामा आफ्ना वंशका दाजुभाइ भेटघाट गर्दै विहीबार अत्तरियाबाट पौडीका लागि हिँडेका हुन् । पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष शालिकराम पौडेल, उपाध्यक्षहरू विजय पौडेल र दिपकप्रसाद पौडेल, महासचिव उद्धवप्रसाद पौडेल, कोषाध्यक्ष युवराज पौडेल, वंशावली समितिका संयोजक प्रा. डा. कृष्णप्रसाद पौडेल, समावेशी आयोगका सदस्य मानप्रसाद खत्री पौडेल, केन्द्रीय सदस्य प्रेम पाैडेल लगायतका सहभागी छन् ।

पुर्ख्यौली थलो खोजी तथा संरक्षण अभियानमा टोलीले धनगढीमा सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारी, सांसद दमन भण्डारीसँग भेट गरि छलफल गरेका छन् । टोलीले पौडीको स्थलगत भ्रमण गरि केदारस्यू गाउँपालिकाका जनप्रतिनिधि, स्थानीयसँग छलफल गरि त्यहाँको संरक्षण र प्रबर्द्धनको योजना समेत बनाउने र राष्ट्रपति रामचन्द्र पौडेल सहित देशभरका पौडेलहरूसम्म यो सन्देश पुर्याउने लक्ष्य रहेको पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले जानकारी दिनुभयो ।

पौडीका पौड्याल बझाङको केदारस्यू गाउँपालिकामा पर्ने सेती नदी किनारासँगै रहेको ठूलो फाँटलाई पौडी भनिन्छ । स्थानीयवासी पौडीलाई पौडीको ज्यूलो भन्छन् । पौडीको पूर्वमा जुइलीगाड (खोला) बग्छ । दक्षिणमा सेती नदी र उत्तरमा सेगु भन्ने गाउँ छ । पश्चिममा बगाल नामको अर्को ठूलो ज्यूलो छ । उत्तरमा सेग भन्ने बोहराहरूको ठूलो गाउँ छ । हाल पौडी स्थानीय बोहराहरूको स्वामित्वमा छ । पौडीको पूर्वतिर ऐतिहासिक पौडीकोट छ । प्राचीन पीपलको रूखका साथै पुराना दरबारका भग्नावशेष पौडीकोटको गर्भमै छन् । पौडीकोटको पूर्व, दक्षिण र पश्चिममा भीर छ भने उत्तरतिरबाट मात्रै कोटमा पुग्ने बाटो छ । कोट जाने पूर्वतिर पनि खौलो काटिएको छ । हाल पौडीकोटमा केही दलित परिवार बस्दै आएका छन् । नेपालमा रहेका पौडेल ब्राह्मणहरूले कसैले आफ्ना पुर्खा भारतको उत्तराञ्चलको पौडीबाट त कसैले बझाङको पौडीबाट पूर्वी नेपालमा बसाइँ सरेका हुन् भनेर लेख्ने गरेका छन् । डा. मुक्तिप्रसाद पौडेलद्वारा लिखित ‘पौडेल वंशावली’ मा पौडी र नजिकैको झोतामा पौडेलहरूको राज्य र बसाइँ रहेको र त्यहीँबाट पौडेलहरू पूर्वतिर बसाइँ सरेको उल्लेख छ (पौडेल, २०७५०) ।

रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्।

रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। 

आत्रेय गोत्री भट्टहरूको वंशावलीमा श्रीदेव भट्टको जन्म विसं १२१५ मा श्रीवत्सराज भट्टकी कान्छी महारानी कान्तिमतीको गर्भबाट बझाङ पौडीको झोता दरबारमा भएको कुरा उल्लेख छ । श्रीवत्सराजकी गङ्गादेवी, नीलाम्बरा र सुदक्षिणा नामका तीन पत्नीमध्ये नीलाम्बरातर्फका जेठा छोरा गुणदेव भट्ट पौडीबाट दैलेखको सातलामा आएर बसेका थिए । उनले दैलेखमा साततले घर निर्माण गरी बसेकोले सो क्षेत्रको नाम ‘सातला’ रहेको थियो । तिनैका सन्तान दुल्लुमा सरेका र दुल्लुपछि पूर्वतिर सर्दा उनीहरू ‘दुलाल’ भएका थिए भनिन्छ । गङ्गादेवीका तर्फबाट श्रीदेवका माहिला छोरा श्रीनन्द बझाङको पौडीबाट कालिकोटको चिलखाए बसाइ सरेका थिए । चिलखाए सरेपछि सबैले ‘पौडीवाला’ भन्ने गरेबाट श्रीनन्दका छोरा श्रीरामले पौडेल लेख्न सुरु गरेका थिए । बझाङको पौडीबाटै बसाइँ सरेका नीलाम्बरातर्फका श्रीदेवका साहिँला छोरा श्रीनाथ दैलेखको दुवाडामा बसेपछि दुवाडी अर्थात् दवाडी भएका थिए । सुदक्षिणाकै कान्छा छोरा कृष्णदत्त बाबुआमासँगै पौडीमै बसेका थिए । कालिकोट चिलखाए बसाइँ सरेका श्रीनन्दका छोराहरू श्रीराम र श्रीहरिमध्ये श्रीहरि कालीकोटको दाहा गाउँमा बसेपछि उनका सन्तान दाहाल कहलिन गएका थिए ।

पूर्वसचिव विष्णुप्रसाद खत्रीले समेत ‘बझाङ संक्षेप’ नामक पुस्तकमा बझाङको पौडीलाई नै पौडेलहरूको थातथलो भनेर लेखेका छन् । खत्रीका अनुसार बझाङमा चारथरिका ब्राह्मण सम्बन्धमा प्रचलित उक्ति यस प्रकार छः पूर्वका जुवाडी पश्चिमका सुवेदी बाह्रडाँडा रेग्मी काला पौडेल यी चार थरीका सहायक रताला बेताला, तम्ताला र अधुकाला । खत्रीका अनुसार पौडीमाथि रहेको कनाडा गाउँका भट्टहरूलाई पौडेलका पुर्खाहरूका अवशेष मानेका छन् । त्यसैगरी डा. मुक्तिनारायण पौडेलले पौडीसँगै जोडिएको सेगु गाउँलाई सिग्देलहरूको पुख्र्यौली थलो भनेका छन् । तर, यस विषयमा थप खोज हुन सकेको छैन । सेगुको सन्दर्भमा प्राचीन ताम्रपत्रहरूमा सेगुको नाम उल्लेख छ । बझाङ भातेखोला गाउँका मदनराज जोशीको घरमा रहेको खस सम्राट अभय मल्लको शाके संवत् १२९९ फागुनको वदि ११ को ताम्रपत्रमा श्वेत सरिता (सेती नदी) किनारा नजिकको सेगु गाउँलाई ‘गलितदुकूल शंकाविमोद्वहन्त्या श्वेतसरिता समलंकृत परिसर प्रदेशा श्री सेगुड’ भनेर उल्लेख गरिएको छ ।

सम्पूर्ण पृथ्वीको भारहरण गर्न सक्ने धैर्यवान्, कीर्तिवान्, हिमाली हाँसझै सेतो मोहडा भएका, सेती नदीको किनारामा पर्ने सेगु प्रदेशमा विराजमान हुने, अतुल शक्तिशाली, पृथ्वीको भार बोक्न सक्ने, कृष्णजीजस्तै गोवर्द्धन पर्वत धारण गर्नसक्ने, विभिन्न सामन्तका मण्डलले केन्द्रित गरिएका कमल केसरजस्ता अभय मल्लका सम्पूर्ण परिवारको चिरायू होस् इत्यादि भनिएको छ । पूर्णप्रकाश नेपाल यात्रीले ‘सेतीका तारा’ नामक पुस्तकमा उतार गरेको अभय मल्लको ताम्रपत्रमा सेगुलाई ‘सेगुपुरी’ भनेर लेखेका छन् ९यात्री, २०३४ः २४६० । इतिहासकार राजाराम सुवेदीले भने ‘बझाङका बाह्र अभिलेख’ शीर्षकको लेखमा अभय मल्लको शाके संवत १२९९ को ताम्रपत्रबारे उल्लेख गरे पनि ‘सेगु’ कहाँ पर्छ भन्ने कुनै सूत्रबाट पनि थाहा हुन नसकेको बताएका छन् । ऐतिहासिक महìव बोकेको पौडीकोट र सँगै जोडिएका सेगु र बगाललगायतको ठाउँहरूको थप सोधखोज गर्ने हो भने थुप्रै तथ्य अगाडि आउने प्रबल सम्भावना देखिन्छ । बझाङका विभिन्न स्थान रेग्मीका रेगम, सुवेदीका सुवेडा, कोइरालाका कोइरालाकोट , बगाले थापा बगाल, बखेतीका बखत, सोतगाउँका सोती, लुयटाका लुइँटेल, बास्तोलीका बास्तोला, आदि हुन् ।

पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, पौडीमा पुगेपछि ।
(लिंकमा क्लिक गर्नुहोला ।)

https://www.facebook.com/100008267940981/videos/1277079980044918/

यात्राको क्रममा कैद गरिएका केही तस्वीरहरु ।

पौडी, बझाङ

प्रतिक्रिया दिनुहोस्