बिभिन्न स्थानिय तहमा २ सय पर्यटकीय गन्तव्य छनोट, आयोजनाका लागि ६ अर्ब ८० करोड विनियोजन

बिभिन्न स्थानिय तहमा २ सय पर्यटकीय गन्तव्य छनोट, आयोजनाका लागि ६ अर्ब ८० करोड विनियोजन

काठमाडौं ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले देशभरबाट २ सय वटा गन्तव्य स्थल छानिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २ सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् । आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

कस्ता आयोजना भए छनोट ?

पर्यटन मन्त्रालयका अनुसार पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण र संस्कृति संरक्षणका कार्यक्रमहरु छनोट भएका छन् । झापाको शिवसताक्षी नगरपालिकाले ७० लाख रुपैयाँ लागतमा दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुल बनाउने प्रस्ताव गरेको छ ।

ताप्लेजुङको मिल्के डाँडामा लालिगुराँस पार्क निर्माणको समेत योजना गरेको छ । मोरङको राजारानी तालको संरक्षण तथा सौन्दर्यीकरणमा बजेट परेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा समेत वाटर फनपार्क बनाउन बजेट परेको छ । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ती पार्क बनाइने भएको छ ।

दोलखाको सैलुङ गाउँपालिकामा मिनी ग्रेट वाल निर्माण गरिने भएको छ । काभ्रेको तीनधारे झरना संरक्षण गर्न रोशी गाउँपालिकालाई बजेट छुट्टयाइएको छ ।

गोरखाको सिरानचोक गाउँपालिकामा अमरसिंह पार्क निर्माण हुने छ । गुल्मीको रेसुंगा नगरपालिकामा गर्जुरा रेसुंगा पर्यटन पार्क निर्माणको आयोजना समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्