नयाँपुल जलसरोकार टिम
चरिकोट । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ५, किर्नेटारमा पावरहाउस लगायतका संरचना बनाउदा ६० मेगावाट क्षमताको खिम्ती १ जलविद्युत आयोजनाले किनार अतिक्रमण गरेपछि केही दशक लगाएर भएपनि तामाकोसी नदीले त्यसको बदला शसक्त रुपमा लिएको छ । नदी किनारा छोड्नु पर्नेमा अतिक्रमण गरेर हेलिप्याड, भवन संरचना र सडक बनाउँदाको परिणाम यो भन्दा भयानक हुनसक्थ्यो जसले त्यहाँ वर्षौदेखि बसिरहेका स्थानीय र आयोजनालाई अपुरणीय क्षति गराउँथ्यो तर तामाकोसी नदीले आफ्नो गुमेको किनारा मै चित्त बुझाउँदा अहिलेलाई संकट टरेको छ, भविष्यमा भने जोखिम कायम नै रहेको देखिन्छ । आयोजना निर्माण अगाडि लिएको तस्विरले पनि तामाकोसी नदी किनारा फराकिलो रहेको देखाउदछ ।
आयोजना निर्माण अगाडिको किर्नेटार र तामाकोसी नदीको दृष्य :

बाढी पछिको दृष्य


विपद्ले आयोजनालाई सोत्तर पारे पनि यसका प्रवर्द्धकलाई कुनै फरक पर्ने छैन् । विशुद्ध नाफा कमाउने लक्ष्य राखेर २०५२ मा सम्झौता भई २०५७ मा विद्युत उत्पादन थालेको यो आयोजना नर्वे सरकारकै स्वामित्वमा रहेको स्टेटक्राफ्ट, विकेके र बुटवल पावर कम्पनीको शेयर रहेको हिमाल पावर लिमिटेडले निर्माण गरेको हो । नविकरणीय उर्जाको नारासहित आफूलाई युरोपकै प्रतिष्ठित कम्पनी दाबी गर्ने स्टेटक्राफ्ट जस्तो कम्पनी संलग्न भएपनि खोलालाई बग्न फराकिलो ठाउँ छोड्नु पर्नेमा उल्टो अतिक्रमण गरेको थियो । उसले व्यक्तिबाट अधिग्रहण गरेको जग्गामा पावर हाउस, आवास र स्विमिङ पुल बनाएर आयोजना निर्माण सहज पार्न बनेको सडकलाई भने तामाकोसी नदी किनारमाथि धकेल्दा आज पुनः तामाकोसीले पुरानो किनारालाई समातेको छ । आयोजनाको बदमासी र त्यसबेला स्थानीयमा चेतनाको कमी कै कारण गत शुक्रबार र शनिबार किर्नेटारवासीको दैनिकी त्रासमा बित्यो ।
वर्षौदेखि पर्याप्त नाफा बुक गरिसक्दा पनि आयोजनाले प्राधिकरण र नेपाल सरकारलाई अझै फनफनी घुमाई रहेको छ, यसमा केही नेपाली प्रवर्द्धक र नेताहरूको पनि मिलेमतोले विषयवस्तुलाई झन जटिल बनाएको आशंका गरिन्छ । ४ वर्ष अगाडि नै नेपाल विद्युत प्राधिकरणलाई आधा स्वामित्व दिनु पर्नेमा विभिन्न बहानाबाजी निकालेर आयोजनाले करिव २ अर्ब हिसाब गुमनाम पारिरहेको छ । आयोजना निर्माण गर्दा विदेशी लगानी प्रवर्द्धनको नारा दिए पनि डलरमा सम्झौता, पहुँचमार्ग निर्माण, प्रसारण लाइन निर्माण, रोयल्टी र अतिरिक्त उर्जा उत्पादनको फन्डा ल्याएर विद्युत प्राधिकरण र नेपाल सरकारलाई दिनुसम्म घाटा दिएको छ । यसमा जिल्लादेखि केन्द्रीयस्तरका नेताहरु माथि मिलेमतोको आरोप लागे पनि कुनै अनुसंन्धान भने भएको छैन् ।
विभिन्न समयमा लिएका केहि तस्विरहरु सामाजिक सञ्जालबबाट संकलन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्